विद्यालयमा लगाइएको ताला ४६ महिनापछि खुल्यो

  ०७३ साउन २६ गते

शिक्षक र अभिभावक बीचको विवादका कारण तालाबन्दी गरिएको कमलामाई नपा-४ जरायोटारमा रहेको मनकामना प्रावि ४६ महिनापछि साउन २४ गते खुलेको छ । तालाबन्दी खुलेपछि अहिले कक्षा कोठाभित्र पठनपाठन सुरु भएको छ ।

विद्यालयका प्रधानाध्यापक बिनु खड्का र तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर रानाको मिलेमतोमा आर्थिक अनियमितता भएको, पढाइमा गुणस्तरता दिन नसकेको, झण्डै नौ वर्षदेखि विद्यालयमा लेखापरीक्षण नगराएको, अभिभावक भेलासमेत नबोलाएको आरोपमा यहाँका अविभावकले शिक्षकमाथि समेत अमानवीय व्यवहार गर्दै ०६९ असोज १८ गतेदेखि विद्यालयमा तालाबन्दी गरेका थिए ।

त्यस यता स्थानीय प्रशासन, राजनीतिक दल, शिक्षा कार्यालयले विद्यालयको विवाद समाधान गर्न र ताला खोल्न पटकपटक प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन । जिल्ला शिक्षा कार्यालयले विद्यालयमा भएको अनियमितता छानबिनका लागि विद्यालय निरिक्षक नवराज बरालको संयोजकत्वमा तीन सदस्य समिति बनाएर काम थालेपछि शिक्षक र अभिभावकबीच ताला खोल्ने सहमति भएको हो ।

दुवै पक्षको सहमतिमा विद्यालयमा लगाइएको ताला खोलेपछि आवश्यक कागजात अध्ययन गरी छानबिन थालिएको विद्यालय निरिक्षक तथा छानबिन समितिका संयोजक नवराज बरालले बताए । समितिले प्रहरी, अभिभावक, शिक्षक तथा शिक्षा कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा ताला खोलेर विद्यालयका कागजात अध्ययन गर्न थालेको पनि उनले बताए ।

कक्षा पाँचसम्म पठनपाठन हुने यो विद्यालयमा १ सय ४० जना बालबालिका पढ्दै आएका छन् । विवादमा तानिएका शिक्षक विद्यालयमा जान नसक्ने भनी काजमा बसेपछि अविभावकले स्वयम्सेवक शिक्षक राखेर पढाइ सञ्चालन गरिरहेका थिए ।

आफूहरूले कुनै अनियमितता नगरेको बरु गैर अभिभावकहरूले शिक्षा नियमावली विपरित व्यवस्थापन समिति गठन गर्न दबाब दिएपछि विद्यालयमा विवाद सुरु भएको शिक्षकहरूको दावी छ । यहि विवादका कारण अविभावकले शिक्षकमाथि कुटपिट तथा मोसो दलेर दुर्व्यवहार गरेका थिए ।

विद्यालयमा ताला नखुल्दा पठनपाठन सुचारु रहेपनि बालबालिकाहरू कहिले वर्षाको पानी, चर्को घाम वा हावाहुरीसँगै जाडोमा दुःखका साथ विद्यालयको कक्षा कोठा बाहिरै पढ्न बाध्य थिए । विद्यालयमा विवाद हुनुका साथै तालाबन्दी भएपछि जिल्ला शिक्षा कार्यालय सिन्धुलीले शिक्षकहरूलाई नजिकैको विद्यालय जनज्योति मावि फोस्रेटारमा काजमा खटाई हाजिर गराई तलब खुवाउँदै आएको छ ।

पछिल्लो दुई महिनादेखि जिल्ला शिक्षा कार्यालयले विद्यालयमा दुई जना शिक्षकलाई पठनपाठन सञ्चालनका लागि पठाएको भएपनि ती शिक्षकलाईसमेत अविभावकले विद्यालयमा हाजिर हुन नदिएको शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयमा भएको अनियमितता छानबिन गरेर प्रतिवेदन सार्वजनिक नगरेसम्म नयाँ शिक्षकहरूलाईसमेत हाजिर हुन नदिने भन्दै अभिभावकले अवरोध गरेपछि शिक्षकहरू विद्यालय गए पनि हाजिर हुन पाएका छैनन् ।


विमला पाण्डे