विद्यालयमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य

  ०८० जेठ १६ गते

ताँजाकोट गाउँपालिका–१ काँडागाउँ स्थित जनप्रकाश माविमा भल पसेपछि विद्यार्थी चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । जेठ ८ गतेदेखि १२ गतेसम्म नियमित परेको वर्षाका कारण सो विद्यालयको कक्षा कोठामा भलपसेपछि विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका हुन् ।

कक्षा कोठामा भल पसेपछि कोठा हिलाम्मे हुँदा विद्यार्थी चौरमा बसेर पढ्न बाध्य भएको सोही विद्यालयका प्रधानाध्यापक दलपति खड्काले बताउनु भएको छ ।

भल पसेपछि छ वटा कोठा हिलाम्मे भएकाले यतिखेर खुला चौरमा पढ्न परेको कक्षा १० मा अध्यायनरत छात्रा विसुकला बुढाले गुनासो गर्नु भएको छ । उहाँका अनुसार विद्यालयमा भलपसेपछि पानी नपरेको दिन मात्रै विद्यालयमा आउने गछौँ, यदि पानी परेमा विद्यालयमा पठनपाठनमा समस्या हुने गरेको छ ।

प्रधानाध्यापक खड्काले कक्षा कोठामा पानी भरिएर हिलो भएको र कक्षामा भएका डेस्क बेन्च बाहिर निकालेर पठनपाठन गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो  । कक्षा कोठाको पछाडिको भाग पहिरोले गएको कारण पानी पर्ने बित्तिकै कक्षामा भल छिर्ने गरेको र डरत्रासमै पठनपाठन गर्नु पर्ने बाध्यता रहेकाे  प्रधानाध्यापक खड्काको भनाइ छ ।

पहिरो नियन्त्रण नभएसम्म यो समस्या बारम्बार भोग्नु पर्ने अवस्था रहेको गुनासो गर्नु भयो । उक्त पहिरो नियन्त्रणका लागि विद्यालयमा पर्याप्त वजेट नभएको र ताँजाकोट गाउँपालिकालाई अनुरोध गर्दा गाउँपालिकाले तत्काल उक्त समस्या हल हुन नसक्ने जानकारी गराएको प्रधानाध्यापक खड्काले जानकारी दिनु भएको छ ।

विद्यालय भन्दा माथिको भूगोल अत्यान्तै जोखिम रहेकोले तत्काल पहिरो नियन्त्रण गर्न नसकिने ताँजाकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याँकुली बताउनु भएको छ । पहिरो नियन्त्रणका लागि गाउँपालिकाको बजेट अपुग हुने र यो समस्या समाधान गर्नका लागि प्रदेश सरकारलाई अनुरोध गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत स्याँकुको भनाइ रहेको छ ।

Photo2023030Humla (1)

Photo2023030Humla (2)


नन्द सिंह