विद्यालयमा बाढी पस्दा पठन पाठन प्रभावित

  ०७८ कात्तिक ५ गते

लामो समयदेखि कोभिड –१९ ले प्रभावित भएका सामुदायिक विद्यालयमा बाढीले असर गरेपछि पुनः पठन पाठन प्रभावित भएको छ ।

तातोपानी गाउँपालिका–४ ठाँटाचौरस्थित नेत्रज्योती माध्यामिक विद्यालयमा बाढी पसेर बगरमा परिणत भएको छ । ०२० सालमा स्थापना भएको उक्त विद्यालयलाई ३१ असोज साँझदेखि चार दिनसम्म आएको अविरल वर्षाको बाढीले बगरमा परिणत गरेको हो ।

विद्यालयका प्रधानाध्यापक जाज्वल्याराज न्यौपानेले बाढीले विद्यालय बगाएपछि कक्षा एकदेखि बाह्रसम्मको पठन पाठन प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा हाल ६ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् ।

‘कोरोना सङ्क्रमणको कारण पहिला विद्यालय बन्द भए, अहिले बाढीले विद्यालय बगाउनुका साथै त्यस क्षेत्र बगरमा परिणत भएपछि फेरी पठन पाठन अनिश्चित भएको छ’ कक्षा १० मा अध्ययनरत छात्र मुकेश पाण्डेले भन्नुभयो ।

‘विद्यालय सञ्चालन गर्नका लागि १० ओटा कोठा आवश्यकता छ तर, विद्यालयमा ६ ओटा कोठा मात्रै बचेका छन् । बाढीले विद्यालयको दुई कोठे भवन पनि बगायो’ प्रअ न्यौपानेले दुःखेसो पोख्नुभयो ।

भवन बगाउँदा अनुमानित ४५ लाख, पर्खाल बगाउँदा ३५ लाख र विद्यालयको खेलकुद मैदान बगाउदा करिब ६० लाख रूपियाँ क्षति भएको विद्यालय प्रशासनले जनाएको छ ।

यस्तै स्टोर गरिएको फर्निचरको ८ लाख, नयाँ निर्माणका लागि राखिएको फर्निचर ४ लाख, जस्तापाताको ३ लाख, निर्माण सामग्री फलामे औजार २ लाख ५० हजार, भवन निर्माणका लागि राखिएको फलामे सरिया ४५ हजार, नयाँ भवन निर्माण लागि राखिएका काठ ५ लाख ५० हजार, राष्ट्रिय झण्डा राख्ने मञ्च ४० हजार विद्यालयको शौचालय २ लाख ५० हजार गरी १ करोड ६६ लाख ३५ हजार रूपियाँ बराबरको क्षति अनुमान गरिएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।

Photo20211022Jumla

बेमौसमी बाढीले सबैभन्दा बढी नेत्रज्योती माविमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मक्कर भण्डारीले बताउनुभयो । उहाँका अनुसार तातोपानी गाउँपालिका–७ लामाबजारस्थित जनजागृति माध्यामिक विद्यालयको दुई कोठे भवन पनि बगाएको छ ।

सोही वडाको वारा गाउँको आधारभुत विद्यालयमा पहिरो आउँदा क्षति पुगेको छ । यस्तै तीला गाउँपालिकाको नुवाकोटमा रहेको माध्यामिक विद्यालय सेतीवाडाको विद्यालय कोठाभित्र बाढी पसेर क्षति गरेको उहाँले बताउनुभयो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिका स्तरको विपत व्यवस्थापन समितिको बैठक बसेर क्षतिको लगत सङ्कलन गरिरहेको जानकारी दिनुभयो । क्षतिको आधारमा संघसंस्था, स्थानीय, प्रदेश र संघीय सरकारसँग पुनर्निर्माणका लागि पहल गर्ने तयारी गरेको  उहाँको भनाइ छ ।


मानदत्त रावल