विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या

  ०८१ मङ्सिर २६ गते

Photo 202411211 Dhanusha (1)
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् ।

२०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ गुरुकुल पूर्व प्राथमिकदेखि कक्षा पाँचसम्म छ । विद्यालयमा हाल तीन जना शिक्षिका र दुईजना शिक्षक छन् भने १ सय ४६ जना विद्यार्थि बालबालिकाहरू अध्ययनरत छन् ।

प्रधानाध्यापक दिल्ली पासमानका अनुसार विद्यालयमा डेक्स बेन्चको अभावका कारण विद्यार्थी बालबालिकाहरू भुईमा बसेर बाध्य छन् । जाडो बढे सँगै विद्यार्थीको सङ्ख्या पनि घट्दै गएको प्रधानाध्यापक पासमानले बताउनु भयो ।

त्यस्तै, विद्यालयमा शौचालयको उचित व्यवस्था नभएको हुँदा शिक्षक, शिक्षिका र बालबालिकाहरू समस्यामा परेको पासमानले बताउनु भयो । उक्त समस्या बारे सम्बन्धीत वडाको वडाध्यक्ष, नगरपालिकाको नगरप्रमुख, शिक्षा शाखा प्रमुखलाई पटकपटक जानकारी गराए पनि हालसम्म कसैले चासो नदेखाएको प्रधानाध्यापक पासमानले गुनासो सुनाउनु भयो । यी समस्याहरू समाधान नहुँदा पठन पाठनमा समेत नकारात्मक असर पुगेको प्रधानाध्यापक पासमानले बताउनु भयो ।

Photo 202411211 Dhanusha (6)

Photo 202411211 Dhanusha (5)

मधेस प्रदेशको राजधानी र जनकपुरधाम उपमहानगरपलिको वडा नं २१ कुर्थामा अवस्थित यस विद्यालयको अवस्था एउटा दुर्गम क्षेत्रको विद्यालयको जस्तो रहेको शिक्षिका जिप्छी देवी मण्डले बताउनु भयो ।

“विद्यालयको कक्षा कोठाहरूमा विद्यार्थीहरूले बस्ने बेन्च र पुस्तक तथा पाठ्य सामाग्री राख्ने डेस्क पर्याप्त मात्रामा छैन । जसका कारण विद्यार्थी बालबालिकाहरू भुईमा बसेर पढ्छन् । उचित शौचालयको व्यवस्था नहुँदा शिक्षक शिक्षिका र बालबालिकाहरूलाई दिसा पिसाब लाग्दा बाहिर खुल्ला आकाश मुनी गर्नुपर्छ । यी सबै समस्याका कारण विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ”-शिक्षिका जिप्छी देवी मण्डले भन्नु भयो ।

शिक्षिका रेणु यादवले विद्यालयमा शौचालयको लागि भवनको निर्माण भए तापनि शौचालयमा प्यन नभएको कारण दिसा पिसाब बाहिर खुल्ला चौरमा गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । “शौचालय नहुँदा हामी महिला शिक्षिकालाई महिनाबारीको समयमा सेनिटरी प्याड फेर्न गाह्रो भएको छ”-उहाँले भन्नु भयो । साथै शौचालयको राम्रो व्यवस्था नहुँदा सो को लागि बाहिर जानु परेको र यसले पठन पाठनमा समेत समस्या निम्त्याएको शिक्षिका यादवले बताउनु भयो ।

वडाध्यक्ष राजनारायण साहका अनुसार विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसक्नु र राजनीतिक खिचातानीका कारण यस विद्यालयको पूर्वाधार विकासमा समस्या भएको हो । तर, विद्यार्थी र शिक्षक शिक्षिकाहरूले विगतमा जेजस्तो समस्याहरू भोगनु भयो ती समस्याहरूको निराकरणका लागि विद्यालयको पूर्वाधार विकास तथा पुराना डेस्क बेन्च मर्मत र पर्याप्त नयाँ डेस्क बेन्च खरिद गर्न वडाबाट बजेट छुट्याउने वडा अध्यक्ष शाहले इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादवसँग प्रतिबद्धता जायर गर्नुभयो ।
Photo 202411211 Dhanusha (4)


सन्तोषकुमार यादव