विद्यार्थी भर्नाको विषयमा झडप, १३ जना घाइते

  ०७८ साउन १९ गते

माधवनारायण नपा–४ विसुनपूर्वामानपुरमा श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्नाको विषयलाई लिएर साउन १७ गते झडप हुँदा १३ जना घाइते भएका छन् ।

श्री माध्यामिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने उद्देश्यले माधवनारायण नगरपालिका–४ का वडाअध्यक्षका ३५ वर्षीय छोरा रामकलेवर मुखियाले १ सय जना विद्यार्थी भर्ना गर्न भनी विद्यालयमा जाँदा प्रध्यानाध्यापक राजेश राय यादवले भर्ना गर्ने क्रममा सम्बन्धित विद्यार्थीको फोटो, जन्मदर्ता र अभिभावकको सही तथा विद्यार्थीको प्रमाणीकरण गर्नु पर्छ भनी बताएपछि सो विषयमा विवाद बढेर झडपसमेत भएको प्रध्यानाध्यापक यादवले बताउनु भयो ।

झडपमा घाइते हुनेमा स्थानीय ३५ वर्षीय नरेश पासवान, ५१ वर्षीय नन्दराज मुखिया, ४७ वर्षीय बावन मुखिया, ३२ वर्षीय मनोज मुखिया, २३ वर्षीय दिपेन्द्र पासवान, २४ वर्षीय कृष्ण पासवान, २४ वर्षीय ज्ञानेन्द्रकुमार भण्डारी, २६ वर्षीय विशाल भण्डारी, पारस भण्डारी, तपेश्वर भगत, लक्ष्मण भगत घाइते भएका छन् ।

घाइते भएकाहरूको उपचार गरुडा बजारस्थित ग्राण्डी अस्पतालमा भइरहेको छ भने नरेश पासवानलाई थप उपचारका लागि साउन १८ गते काठमाडौँ रेफर गरिएको अस्पतालले जनाएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।

अन्य घाइतेहरू ५१ वर्षीय नन्दराज मुखिया र ४७ वर्षीय बावन मुखियाको सामान्य उपचार गरुडास्थित अनामिका अस्पतालमा गरी थप उपचारको लागि साउन १८ गते तराई हस्पिटल वीरगंज रेफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले बताउनु भयो ।

घटनाबारे हालसम्म कसैले पनि लिखित उजुरी नदिएकाले साउन १८ गते इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रतिवेदनले अनुसन्धान थालिएको डिएसपी भण्डारीले बताउनु भयो ।

माधवनारायण नपा–४ का ३० वर्षीय दिलिपकुमार भण्डारी र ३५ वर्षीय रामकलेवर मुखियालाई साउन १८ गते गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी भण्डारीले बताउनु भयो ।


कोपिला तिमल्सिना