विद्यार्थीहरूलाई कुटपिट गरेको आरोपमा विद्यालयका सुरक्षा गार्ड गिरफ्तार

  ०८० जेठ १८ गते

प्यूठान नगरपालिका– ३ स्थित मुक्ति माविमा अध्यनरत विद्यार्थीहरूलाई कुटपिट गरेको आरोपमा प्रहरीले विद्यालयका सुरक्षा गार्ड प्यूठान नगरपालिका– १ का ४० वर्षीय टंकबहादुर बस्नेतलाई जेठ १८ गते घरबाट गिरफ्तार गरेको छ ।

मुक्ति माविमा कक्षा १० मा अध्ययनरत प्यूठान नपा– ४ का १६ वर्षीय बिवेक विक १६ वर्षीय मनिष बिक, प्यूठान नपा– २ का १६ वर्षीय अर्जुन सुनार र मल्लरानी गाँउपालिका– ४ का १७ वर्षीय आषिम घर्तीमगरलाई जेठ १७ गते सामान्य विवादका क्रममा कुटपिट गरेको भन्दै पीडितहरूले आरोपितविरूद्ध जेठ १७ गते इलाका प्रहरी कार्यालय, बिजवारमा  उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिजुवारका असई रामबचन चौधरीले बताउनु भयो ।

कुटपिटबाट  बिवेक विकको दायाँ हात, मनिस बिकको दायाँ हातको चोर औला भाचिएको र अन्य दुई जनाको समान्य नीलडाम रहेको प्रहरीले जनायो ।

घाइते चारै जनाको जेठ १७ गते जिल्ला अस्पताल बिजुवारमा उपचार गराइएको छ ।

विद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले बालकहरूलाई लाठीले प्रहार गरेको पाइएको बताउदै तत्काल विद्यालयको बैठकले घटनाको विषयमा निर्णय गर्ने बताउनु भयो ।


रविन्द्र पाण्डे