विद्यार्थीहरु चुहिने जीर्ण भवनमूनि बसेर पढ्न बाध्य

  ०८१ असार २५ गते

मालिकार्जुन गाउँपालिका–६ स्थित गरडा माध्यमिक विद्यालय, बाकुका विद्यार्थीहरु जीर्ण भवन र पानी चुहिने कोठामूनि बसेर पढन बाध्य भएका छन् । निरन्तर वर्षाका कारण भवन चुहिन थालेको छ । जीर्ण भवनको मर्मतसम्भार नगरिएका कारण विद्यार्थीहरु चुहिने भवनमूति बसेर पढ्न बाध्य भएका हुन् ।

भवन जीर्ण भएर पानी चुहिने कक्षाकोठा भित्रै विद्यार्थीहरु पढ्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले बताउनु भयो । भवन नयाँ बन्न सकेन् । पुरानै भवनमा राखेर विद्यार्थी पढाउनु परेको छ । अहिले निरन्तरको वर्षाका कारण कोठाभित्र पानी जम्न थालेको छ ।

विद्यालय २०१३ सालमा स्थापना भएको हो । ०८१ असार २३ गतेदेखि मालिकार्जुन गाउँपालिकाको शौक्षिक क्यालेन्डर अनुसार चालु शौक्षिक सत्रको पहिलो त्रैमासिक परीक्षा संञ्चालन गरेको छ । तर, उक्त विद्यालयमा छाना चुहिने समस्याले गर्दा परीक्षा समेत एक घण्टा ढिलोगरी संञ्चालन गर्नु परेको प्रधानाध्यापक गिरीले जानकारी दिनु भयो ।

शिशु कक्षादेखि १० कक्षासम्मको पढाई हुने गरेको सो विद्यायलयको भौतिक अवस्था जीर्ण छ । कोठाभित्र चुहिन थालेपछि विद्यार्थीले सुरक्षित स्थान खोज्दै बस्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो ।

photo20240709darchual

विद्यालयका कक्षाकोठाहरु समेत कच्ची हुँदा गर्मीको सयममा विद्यार्थीहरु सर्पको भयबाट त्रसित हुदैँ आएको अभिभावक दानीराम तिरुवाले गुनासो गर्नु भयो । यस क्षेत्रमा सर्पको निकै डर हुन्छ । एक महिना लालीमा एक जना बालिकाले सर्पको टोकाइबाट घरमै ज्यान गएको थियो । यहाँ पनि कक्षाकोठाभित्र सर्प पसेपछि अहिले गरडा माविका विद्यार्थीहरु त्रासमा बस्न थालेका छन् ।

ठूलो पानी परेका बेलामा आफूहरु पानीले बिझ्ने गरेको विद्यार्थी विवेक महर बताउनु हुन्छ । कापी किताब नै भिज्ने डर छ । फर्निचर तथा बालमैत्री बसाई ब्यवस्थापन गर्न नसकिदा शिक्षण शिकाई उपलब्धिपूर्ण बन्न सकेको छैन् ।

गरडा माध्यमिक विद्यालय, बाकुसँग थप कक्षा कोठा नहुँदा बिज्ञान प्रयोगशाला; पुस्तकालय; कम्प्युटर कक्षाको ब्यवस्थापन गर्न अझै समस्या रहेको छ । विज्ञान प्रयोगशालामा छाना चुहिने कारणले गर्दा उपकरणहरु बिग्रीने समस्या देखिएको छ भने पुस्तकालयमा छाना चुहिने भएकाले पुस्तकहरुमा धमिरा लागेको छ ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोकर्णसिह धामीले विद्यालयको समस्या बारे गाउँपालिकालाई जानकारी गराइसकेको र यसै आर्थिक वर्षभित्र विद्यालयको लागि केहि काम हुने आशा गरेको बताउनु भयो ।


नरेन्द्रसिह कार्की