विद्यार्थीबिचको विवादका कारण शिक्षकमाथि कुटपिट

  ०७४ साउन ३१ गते

मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।

विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक लिम्बुलाई सोही ठाउँका ३० वर्षीय राजेन्द्र राना कुमालले कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट पीडित शिक्षकको आँखाको मुनीको भाग, गाला र निधारमा चोट लागेको छ ।

'विद्यालयमा विद्यार्थी बिचको झगडा मसँग गाँसेर कुट्ने धम्की आएको थियो ।'-पीडित लिम्बुले भने-'सहजीकरण हुँदै थियो । एक्कासी ममाथि आक्रमण भयो ।'

सो घटनाका बारेमा विद्यालयका प्रधानाध्यापक सीता कार्कीले विद्यार्थीहरू हल्ला गरेको बिषयलाई लिएर बिना कारण शिक्षक लिम्बुमाथी कुटपिट गरेको बताइन् ।

विद्यालयले अभिभावक र आरोपित रानालाई बैठकमा बोलाएर छलफल गर्ने तयारी गरेको भएपनि एक्कासी शिक्षकमाथि कुटपिट भएको प्रध्यानाध्यापक कार्कीले बताइन् । उनले शिक्षकमाथि आक्रमणपछि अरू शिक्षकहरू पनि असुरक्षित भएको बताइन् ।

०७१ सालबाट विद्यालयको निजी स्रोतमा अध्यापन गराउँदै आएका शिक्षक लिम्बुमाथि भएको कुटपिटको विषयलाई लिएर प्रहरी चौकी वामीमा साउन ३० गते छलफल गरिएको थियो । दुवैपक्ष मिल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय र जिल्ला शिक्षा कार्यालयमा उजुरी दिने तयारी भएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।


टोपलाल अर्याल