विजय जुलुसमा बालबालिकाको प्रयोग

स्थानीय तह निर्वाचनको मतगणना सकिएपछि विजयी पार्टीका उम्मेदवारहरूले विजय जुलुस निकालिरहेका छन् ।

विजयी उम्मेदवारले विजय जुलुसमा बालबालिकाको प्रयोग गर्न भने छोडेका छैनन् । सन्धिखर्क नगरपालिकमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट मेयर पदमा विजयी भएका उम्मेदवार कमलप्रसाद भुसालको विजय जुलुसमा ९ वर्षदेखि १६ वर्षसम्मका बालबालिकाहरूको प्रयोग भएको छ ।

सन्धिखर्क नपा-१० का १४ वर्षीया राजिब पोख्रेलले घरमा बाबु आमा र साथीहरूले जाउँ भनेपछि आएको बताए ।

सन्धिखर्क नपा -५ का १२ वर्षीय सुजन बस्नेतले घर र छिमेकी र साथीहरू सबै आएपछि  जुलुसमा आएको बताए ।

निर्वाचन आचारसंहिता अनुगमन गर्ने निकायसमेत बालबालिका प्रयोग भएको बारे बेखबर थियो । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीलाई इन्सेक प्रतिनिधिले जुलुसमा बालबालिकाको व्यापक प्रयोग भएको बारे जिज्ञासा राख्दा विजयी उम्मेदवार र राजनीतिक दललाई सचेत गराउने भनी बालबालिकाको प्रयोगबारे अनभिज्ञता देखाए ।

राजनीतिक रूपले बालबालिकालाई सहभागी नगराइएको र उनीहरू स्वतर्स्फुत जुलुसमा सहभागी भएको नेपाली काङ्ग्रेसका नेता विष्णु खनालले बताए ।

स्थानीय तह निर्वाचन आचार संहिता २०७४ को परिच्छेद नं.२ को 'ड'मा बालवालिकालाई निर्वाचनमा प्रचार प्रसार, जुलुस, र आमसभामा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।


नारायण भुसाल