विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते

  ०७९ जेठ २ गते

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख ८०६० नम्वरको बसमा करेन्ट लागेको हो ।
करेन्ट लागेर मृत्यु हुनेमा कुमाख गाउँपालिका १ का २६ वर्षीय लोकेन्द्र राना, सोही ठाउँका २३ वर्षीय गोपाल बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बसको छतमा बसेर नारावाजी गरिहरको अवस्थामा उनीहरूलाई विद्युतको तारले छोएको थियो ।
करेन्ट लागेर कुमाख गाउँपालिका–४ का १६ वर्षीय गोपाल बुढाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डीएसपी सुमित खड्काले जानकारी दिनु भएको छ । यसैगरी घाइते हुनेमा कुमाख गाउँपालिका–४ का १३ वर्षीय महेन्द्र रावत, १६ वर्षीय निखिल विक, १५ वर्षीय लिलामणी बुढाथोकी र १६ वर्षीय प्रकाश बुढाथोकी रहेका छन् ।
यस्तै सोही ठाउँका १६ वर्षीय विराज बुढाथोकी, १३ वर्षीय सोलन बुढाथोकी, १५ वर्षीय हेमन्त वुढाथोकी, १६ वर्षीय हेमन्त विक, १४ वर्षीय प्रकाश शाह, १३ वर्षीय डिल्ली राना, २१ वर्षीय नविन रावत, १६ वर्षीय हिमाल राना र चौरजहारी नपा १ बस्ने १९ वर्षीय गोविन्द विक रहेको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि चौरजहारी अस्पतालमा लगिएको छ ।
घाइते सबैको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइरहेको प्रहरीको जनाएको छ । विजय उत्सव मनाउने तयारी गर्दा घटनापछि गाउँ पुरै शोकमग्न भएको छ ।
कुमाख गाउँपालिकामा काँग्रेस एमाले गठवन्धन विजयी भएको थियो । जस अनुसार अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर रावत विजयी भएकोमा गाउँमा जेठ २ गते संयुक्त विजय जुलुस निकाल्ने तयारी भइरहेको थियो ।


मिना बुढाथोकी