विकासलाई वातावरणमैत्री बनाउनुपर्छ-राष्ट्रपति पौडेल

  ०८० जेठ २२ गते

राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड  दिनु भएको छ । विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते शुभकामना व्यक्त गर्दै उहाँले एक सन्देश जारी गर्नु भएको छ ।

सन्देशमा भनिएको छ-“आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ ।”

यसवर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदै छ ।

मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको  असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

"हाम्रो हिमाली भेग, उच्च पहाड, चुरे र तराईका फाँटहरूसम्म जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको छ । यसले वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको  छ । अर्को चुनौती भनेको विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ ।"-सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले विकासलाई वातावरणमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिनु भएको छ । दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने जुनसुकै विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्वोधन गर्नुपर्ने उहाँको धारणा छ ।


अनलाइन डेस्क