विकराल बन्दै महिला हिंसा
यो वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेदेखि देशभर सुरु भएको छ । सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत यस पटक ‘म हिंसा गर्दिन, म हिंसा सहदिन र म हिंसाको प्रतिकार गर्छु र रिपोर्ट गर्छु’ भन्ने प्रतिवद्धता राखिएको छ ।
गाउँ शहरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहदा सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माकी ३० वर्षीया मीना आलेलाई ३८ वर्षीय पति अम्मर आले मगरले घाँटी रेटेर हत्या गरे । यो त एक उदाहरण मात्रै हो ।
महिला हिंसा समाजको कुरुप तस्वीर हो । जसले महिलालाई मान्छेका सामान्य अधिकारको उपयोग गर्नबाट समेत वञ्चित बनाइरहेको छ । मानव अधिकारको विश्वव्यापी घोषणा–पत्रको धारा एकमा सबै नागरिक जन्मजात र मर्यादा तथा अधिकारमा समान हुन्छन् । तर विडम्बना नेपाल भने महिला हिंसाबाट मुक्त हुन सकेको छैन् ।
सबै महिला हिंसाको उच्च जोखिममा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक तीन मध्ये एक महिला आफ्नो जिवनमा कुनै न कुनै प्रकारको हिंसाबाट प्रभावित छन् । नेपालको प्रमुख राष्ट्रपति पदमा महिलाको नेतृत्व छ । संघियता कार्यान्वयनका क्रममा बनेका स्थानीय तहमा समेत प्रमुख अथवा उपप्रमुखमा महिला अनिवार्य भनिएको छ । तर पनि महिलामाथि हुने हरेक किसिमको हिंसामा कमी आउन सकेको छैन् ।
यहि हिंसाको शिकार बन्न पुगेका छन् कर्णालीका महिला । भौगोलिक रुपमा विकट कर्णाली प्रदेशमा पछिल्लो साढे दुइवर्षको तथ्याङ्कले महिला हिंसाको अवस्था विकराल रहेको देखिएको छ । महिला हिंसा न्युनीकरणका लागि थुप्रै अभियान सञ्चालन हुँदै आएको भएपनि हिंसाजन्य श्रृखला भने रोकिएका छैनन् । केही वर्षयता परेका उजुरीको संख्याका आधारमा महिलामाथि हुने हिंसा झनझन बढ्दै गएको पाइएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार कर्णालीमा प्रत्येक दिन महिलाहरू कुनै न कुनै किसिमको हिंसाको सिकार भइरहेका छन । महिलाहरू घरेलु, यौनजन्य र लौङ्गिक हिंसामा धेरै पर्ने गरेका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ मा १ सय ५४ जना महिला बलात्कार घटनामा परेको भन्दै प्रहरीमा उजुरी परेका थिए । पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १ सय ५५ जना महिला तथा बालिका बलात्कार घटनामा परेको भन्दै उजुरी परेको थियो । चालु आर्थिक वर्ष २०७९/०८० को चार महिनामा ७८ जना महिलाहरू बलात्कार घटनामा पीडित भएको उजुरी परेको प्रहरी कार्यालयले जनाएको छ ।
समाजमा हुने अनेक खालका हिंसाबाट सबै उमेर समूहका महिलाहरू प्रभावित भएका छन् । प्रहरीमा परेका उजुरीले बालिकादेखि ज्येष्ठ उमेरसम्मका महिलाहरू हिंसामा परेको देखिएको छ । कर्णालीमा झण्डै दुइवर्षको अवधिमा मात्रै ३ सय ८७ जना महिलाहरू हिंसामा परेको देखिएको छ ।
कर्णालीमा बलात्कारका घटनामा पीडित हुनेमा बालिकाको सङ्ख्या उल्लेखनीय छ । कर्णालीमा महिलामाथि हुने हिंसामा सबैभन्दा धेरै बलात्कार घटनाका उजुरी भएको प्रहरीले जनाएको छ । यहाँ बहुविवाहका घटना पनि अधिक हुने गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ९६ ओटा बहुविवाहका उजुरी दर्ता भएका छन् ।
गएको आर्थिक वर्षमा कर्णालीका विभिन्न जिल्लामा ८१ र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २८ ओटा बहुविवाहका उजुरी परेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एसएसपी माधवप्रसाद श्रेष्ठले कर्णालीमा महिलामाथि हुने यौनजन्य हिंसाका उजुरी धेरै आउने गरेको बताउनुभयो ।
कर्णालीका केही क्षेत्रमा अहिले पनि सामाजिक अन्धविश्वास र कुप्रथा व्याप्त छ । महिलाहरू छाउपडी र बोक्सीजस्ता अन्धविश्वासका कारण पीडित बनिरहेका छन् । गएको साढे दुइवर्षको अवधिमा प्रदेशमा ६ ओटा हिंसाका घटना यसैसम्बन्धी रहेका छन् । मानव वेचविखनको जालोमा पनि महिला नै बढी परेको देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ यता प्रदेशभर मानव बेचविखनका घटना पनि बढेका छन् । उक्त वर्ष तीन ओटा मानव बेचविखनका उजुरी दर्ता भएकोमा आर्थिक वर्ष २०७८/०७९ मा चार ओटा र चालु आर्थिक वर्षको चार महिनामा तीन ओटा उजुरी दर्ता भइसकेका छन् ।
त्यसैगरी, नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०२१ मा इन्सेकले प्रकाशन गरेको तथ्याङक अनुसार कर्णाली प्रदेशमा सन् २०२० मा महिला अधिकारका घटनाहरूमा राज्यपक्षबाट शून्य र अन्य पक्षबाट २ सय २० जना महिला पीडित रहेका छनभने मानव अधिकार वर्ष पुस्तक २०२२ मा राज्यपक्षबाट एक र अन्यपक्षबाट २ सय ४ जना पीडित रहेका छन ।
महिला माथि मानसिक, शारीरिक, यौनजन्य र लैङ्गिक विभेद तथा असमानता जस्ता हिंसा श्रृंखलाबद्ध रुपमा भइरहेको अधिकारकर्मी बताउछन् । उनीहरूका अनुसार महिलामाथि हुने विभिन्न हिंसा रोकथाम तथा न्युनीकरणका लागि भइरहेका प्रयास अझै प्रभावकारी बन्न सकेका छैनन् । अधिवक्ता एवम् महिला अधिकारकर्मी गिता कोइरालाले विभिन्न बहानामा महिलालाई गरिने हिंसामा कमी आउन नसकेको बताउनुभयो । समाजमा चेतनास्तर बढेपनि यौन दुव्र्यवहार, बेचविखन, कुटपिट बोक्सीको आरोप जस्ता घटनामा कमी नआउनु गम्भिर विषय भएको उहाँको भनाई छ ।
पछिल्ला वर्षमा महिलामाथि गरिने हिंसाका प्रकृति पनि फेरिएका छन् । सूचना प्रविधिको प्रयोग बढेसँगै सामाजिक सञ्जालमार्फत महिला हिंसा गर्ने गरिएको थुप्रै उजुरी प्रहरीमा पर्ने गरेका छन् ।
जुन हिंसा न्युनीकरण गर्न सचेतना बढाएर कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने अधिकारकर्मीहरू बताउछन् । समाजमा अहिले पनि पृति सतात्मक सोच हावी हुनु, अन्धविश्वास र कुसंस्कार जस्ता परिपाटी संस्थागत भइरहनुले माहिलामाथि हुने हिंसामा कमी नआएको कतिपयको तर्क छ ।
महिलामाथि हुने घरेलु हिंसाका घटनाको अवस्था पनि भयावह छ । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर ६ सय २७ घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । त्यसको पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशभर ८ सय ७५ ओटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका थिए ।
कर्णालीमा मानव अधिकार हननका अधिकांश घटनामा समेत महिला नै बढी प्रभावित भएका छन् । महिला माथि हुने विभिन्न खालका हिंसा हुने गरेका छन् । पारिवारिक, घरेलु, कुटपिट, बलात्कार जस्ता घटनामा कमी आउन नसकेको अनौपचारिक सेवा केन्द्र (इन्सेक) का कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो । महिलामाथि हुने यस्ता खालका घटनामा वर्षेनी वृद्धी हुनुको मुख्य कारण भनेको नै महिला आफै आत्मनिर्भर बन्न नसक्नु नै मुख्य कारण रहेको उहाँ बताउनुहुन्छ । सचेतनाको कमी तथा कानुनका विषयमा जानकार नहुँदा पनि महिला माथि दिनहुँ जसो घटना भइरहेको प्रदेश संयोजक सुवेदीले बताउनुभयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शहरमुखी भएको समेत संयोजक सुवेदीले बताउनुभयो । जहाँ महिलामाथि दिनहु जसो हिंसा हुन्छ त्यो ठाँउमा पुगेर यस्ता कार्यक्रम गर्दा अझ प्रभावकारी हुने उहाँको बुझाई छ । शहर केन्द्रित कार्यक्रमले यो दिवसको अर्थ र महत्व नरहने समेत उहाँको भनाई छ ।
अभियानलाई प्रभावकारी बनाउनका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । विभिन्न समूह सङ्गठन तथा विद्यालयमा समेत सचेतना मुलक कार्यक्रम गरी महिला माथि हुने विभिन्न खालका हिंसामा कमी ल्याउन कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रभा कुमारी रावत
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…