वास्तविक द्वन्द्वपीडितको नाम सिफारिस गर्न कार्यदलको आग्रह

  ०७३ चैत ६ गते

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षणसम्बन्धी कार्यदलले दाङमा रहेका वास्तविक द्वन्द्व प्रभावितहरूको नामावली सिफारिस गर्न स्थानीय प्रशासन तथा स्थानीय शान्ति समितिलाई आग्रह गरेको छ ।

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एवम् परीक्षण गर्न बनेको कार्यदल ०७३ का संयोजक रामचन्द्र घिमिरेसहितको कार्यदलको टोलीले चैत ६ गते घोराहीमा सरोकारवालाहरूसँग यस्तो आग्रह गरेको हो ।

०७१/०७२ मा तत्कालिन पाचौँ कार्यदलले सिफारिस गरेका द्वन्द्वपीडितहरूको प्रमाण नपुगेकोले पीडित भए नभएको एकिन गरी सात दिनभित्र नामावली पठाउन शान्ति समितिलाई आग्रह गरिएको कार्यदलका संयोजक रामचन्द्र घिमिरेले जानकारी दिए ।

तत्कालिन अवस्थामा द्वन्द्वपीडितहरूको नाम सिफारिस गर्दा घाइतेलाई समेत मृतकको सूचीमा सिफारिस गरिएको पाइएपछि कार्यदलले जिल्लामै पुगेर सत्यतथ्य एकिन् गरी प्रमाणसहित पुनः सिफारिस गर्न आग्रह गरेको हो ।

दाङमा ०७१/७२ मा सिफारिस गरिएका ३ सय ४१ जना द्वन्द्वपीडितले राहत पाउन नसकेको स्थानीय शान्ति समितिले जनाएको छ । शान्ति समितिका संयोजक नेत्रप्रकाश पाण्डेले तत्कालिन अवस्थामा सिफारिस गरिएका नामावलीमा त्रुटी रहेको पाइएको र त्यसलाई प्रमाणको आधारमा पुनः छानबिन गरी पठाउने तयारी भइरहेको बताए ।

वास्तविक पीडितले राहत नपाउने र नक्कली पीडितले राहत लिने अवस्था आउन नदिन कार्यदलले सम्बन्धित जिल्लामै पुगेर सरोकारवालाहरूसँग छलफल थालेको कार्यदलले जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको अध्यक्षतामा भएको बैठकमा जिल्लास्थित राजनीतिक दल, स्थानीय शान्ति समिति, जिविस, जनस्वास्थ्य, शिक्षा कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो ।


जे.एन.सागर