वाम गठबन्धनले प्रयोग गरेका ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा आगजनी

  ०७४ मङ्सिर ४ गते

पार्वतीकुण्ड गाउँपालिका-२ को ग्रे गाउँमा वाम गठबन्धनका कार्यकर्ताहरू चढेको ६ ओटा मोटरसाइकल र एउटा स्कर्पियो जीपमा मङ्सिर ३ गते राति लोकतान्त्रिक गठबन्धन पक्षले आगजनी गरेको नेकपा एमालेका स्थानीय नेता पेम्बा लामाले आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेका कार्यकर्तहरूको समूहले एक्कासी सवारी साधनमा आगजनी गरेपछि गाउँमा त्रास फैलिएको र घटनापछि गाउँ आतङ्कित भई गाउँलेहरूले गाउँ छाडेर हिँडेको स्थानीयले बताए ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ध्रुब सिलवालले बताए । गिरफ्तार भएकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

यसैबिच एमाले नेतृ तथा कालिका गाउँपालिका अध्यक्ष सिता अधिकारी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य भगवती न्यौपानेको नेतृत्वमा मङ्सिर २ गते भएको चुनावी घरदैलो कार्यक्रममा काङ्ग्रेस कार्यकर्ताले आक्रमण गरी हातपात गरेको पीडित पक्षको आरोप छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले कालिका गाउँपालिका-४ निवासी तरुणदलका उपाध्यक्ष खेसम तामाङ, बीरबहादुर तामाङ, आशबहादुर तामाङ र उपेन्द्र तामङलाई गिरफ्तार गरेकोमा घटनाका आरोपित र पीडित पक्षबिच मङ्सिर ३ गते कालिकास्थान प्रहरी चौकीमा भएको छलफलपछि मङ्सिर ३ गतेदेखि दैनिक तथा खोजेको समयमा प्रहरी कार्यालयमा उपस्थित हुने गरी तारिखमा रिहा गरिएको थियो । उनीहरूले आफूहरूबाट गल्ती भएको स्वीकार गरी पीडित समक्ष माफीसमेत मागेका थिए ।


हेमनाथ खतिवडा