वादी बस्तीमा खानेपानी समस्या

  ०७८ फागुन ११ गते

आठविसकोट नगरपालिका –९ राडीमा रहेको वादी वस्तीमा खानेपानीको समस्या भएको छ ।

०७७ मा सडक बनाउने क्रममा उडोजरले भत्काएको खानेपानीको लाइनमा ०७८ साउनमा आएको पहिरोले क्षती पु¥याउँदा बस्ती वासी खानेपानीको समस्या भोग्न बाध्य भएका छन् ।

खारखारा खोलाबाट बस्तीमा ल्याइएको खानेपानी लाइनमा समस्या हुँदा बस्तीमा रहेका धारामा पानी आउन बन्द भएपछि सास्ती भोग्नु परेको स्थानीय रमेश वादीले दुःखेसो गर्नुभयो ।

खानेपानी लाइन बिग्रेको एक वर्ष बढी भइसक्दा पनि मर्मतमा कसैले ध्यान नदिएको स्थानीयको भनाई छ ।

स्थानीय कलिभान वादीले गत वर्षको लकडाउनका बेला खानेपानीका लागि सबैभन्दा धेरै दुःख पाइएको सुनाउनु भयो ।

उहाँका अनुसार राडीमा खानेपानीका सार्वजनिक धारा नहुँदा हाल राडि खोला र भेरीको दुषित पानी पिउनु पर्ने बाध्यता छ ।

‘लकडाउनमा एक घरको सदस्य अर्को घरका सदस्यसँग भेट्न मिल्ने वातावरण नहुँदा ठूली भेरी नदिको पानी खानुपरेको हो’ उहाँले भन्नु भयो ।

समस्याका विषयमा पटक पटक नगरपालिकामा जानकारी गराउँदा पनि सुनुवाइ नभएको कलिभानले गुनासो गर्नुभयो ।

आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बादी बस्तीमा खानेपानीको समस्या रहेको जानकारी आएको र योजना मर्मत नहुँदासम्म नजिकै रहेका अरू धाराबाट खानेपानी आपूर्ति गर्न भनिएको बताउनुभयो ।

खानेपानी योजना मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ ।


मनिषा केसी