वातावरण संरक्षक महतोको घटनाप्रति इन्सेकको ध्यानाकर्षण

मिथिला नपा५ बस्ने दिलिप भनिने २५ वर्षीय ओमप्रकाश महतोलाई फलामको रडले कुटपिट गर्दै सुनियोजित तरिकाले टिपरले किचेर हत्या गरेको घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को ध्यानाकर्षण भएको जनाएको छ ।

Press release, 2076-09-29 gate

पुस २९ गते इन्सेक प्रदेश २ का संयोजक राजु पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधानको मौलिक हकमा नागरिकको बाँच्न पाउने हक तथा विचार र अभिव्यक्ति स्वतन्त्रताको हकलाई संवैधानिक रुपमा सुनिश्चित गरिएको हुँदा यस घटनाले उक्त हक हनन् भएको इन्सेकको ठहर रहेको जनाएको छ ।

इन्सेक प्रदेश २ ले जारी गरेको विज्ञप्तिमा संविधानको मौलिक हकको धारा ३० मा स्वच्छ वातावरणको हक हुने भनि संवैधानिक व्यवस्था गरिएकोमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने उल्लेख छ । तसर्थ पर्यावरण तथा वातावरण संरक्षण अभियानको नेतृत्व गरिरहेका महतोलाई निर्ममतापूर्वक हत्या गरिएको भनिएको घटनाको प्रभावकारी रुपमा अनुसन्धान गरि घटनामा संलग्न दोषीलाई कानुनवमोजिम कारवाही गर्न इन्सेक प्रदेश २ ले माग समेत गरेका छन् ।

"पीडित परिवारलाई उचित क्षतिपूर्ति र न्याय दिन नेपाल सरकारसँग आग्रह गर्दै शोकमा डुवेको परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्दछु" – इन्सेक प्रदेश २ संयोजक पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

 

 


दिपेन्द्रप्रसाद सिंह