वाइसिएलद्वारा नेविसङ्घका कार्यकर्तामाथि आक्रमण भएको आरोप

  ०७३ फागुन ७ गते

आठबिसकोट गाविसमा रहेको राडी क्याम्पसमा नेविसङ्घका तर्फबाट स्ववियु सदस्यको उम्मेदवार बनेका २६ वर्षीय सुजल शाहीलाई वाइसियल कार्यकर्ताहरूले फागुन ६ गते साँझ आक्रमण गरेको भन्दै नेविसङ्घ रुकुमले आपत्ति जनाएको छ ।

 

नेविसङ्घ रुकुमका अध्यक्ष लालबहादुर ओलीले फागुन ७ गते विज्ञप्ति जारी गदै क्याम्पस हाता भित्र रहेको बेला शाहीमाथि वाइसियलका जिल्ला उपाध्यक्ष मानबहादुर चनारालगायतको टोलीले आक्रमण गरेको आरोप लगाए ।

 

कुटपिटबाट शाहीको छातिमा चोट लागेको र उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि नेविसङ्घ रुकुमका अध्यक्ष ओलीले बताए । घटना लगत्तै प्रहरीले छानबिनको लागि आरोपित वाइसिएलका उपाध्यक्ष चनारालाई साँझ नियन्त्रणमा लिए पनि उतिबेला नै छाडिसकेको नेविसङ्घको आरोप रहेको छ ।

 

यस विषयमा वाइसिएलले भने कुनै प्रतिक्रिया दिएको छैन । थप झडप हुन नदिनको लागि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाइएको रुकुमका प्रमुख जिल्ला अधिकारी बङ्शीकुमार आर्चायले जानकारी दिए ।


आदर्श केसी