वर्षभरी खाना नपुग्ने भएपछि किसानलाई भोकमरी हुने चिन्ता

  ०८१ असोज १० गते

मुगु जिल्लाका अधिकांश किसानलाई वर्षभरी खाना नपुग्ने भएपछि भोकमरी हुने चिन्ता बढेको छ । वर्षभरी बिहानदेखि बेलुकासम्म खेतबारीमा काम गर्दा पनि खाना नपुग्ने भएपछि चिन्ता बढेको हो । सोरु गाउँपालिका–५ की जौकला रोकायाले भन्नुभयो, 'घरबाट बोकेर लगेको चिसो खानाले भोक टारियो । खेतीपाती भित्र्याइयो ।' तर वर्षभरी खान नपुगेर फेरि खानका लागि खोज्न हिँड्नुपर्ने नियति यहाँका बासिन्दाको छ ।

यहाँका अधिकांश बासिन्दाको नियति र दैनिकी यही रूपमा चल्दै आएको उहाँले बताउनु भयो । बिहानदेखि बेलुकासम्म खेतबारीकै काममा हुने भएकाले व्यक्तिगत सरसफाइमा खासै ध्यान दिन नसकिने उहाँको भनाइ छ । वर्षभरी उत्पादन हुने अन्नबालीले बढीमा चार महिनादेखि ६ महिनासम्म मुस्किलले खान पुग्छ । यहाँका अधिकांश जग्गा भिरालो पाखोमा हुनाले फलेको अन्नले वर्षभरी खान नपुग्दा जीवन गुजारा चलाउन यहाँका पुरुषले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेको जौकलाले दुखेसो पोख्नुभयो ।

हिमाली जिल्ला भएकाले यहाँको समुदायको प्रमुख पेशा पशुपालन र कृषि हो । यही परम्परागत पेशाले यहाँका महिलालाई व्यक्तिगत सरसफाइ गर्ने फुर्सदसमेत हुँदैन । वर्षभरीमा जति खेतबारीमा बिताए पनि परिवारलाई पेटभरी खान नपुग्दा जौकला जस्ता यहाँका महिलालाई कृषि पेशाबाट खुसी होइन, दुःखी बनाउने गरेको छ ।

जिल्लाका किसानलाई आधुनिक कृषिसम्बन्धी ज्ञान नभएकाले परम्परागत पेशालाई नै निरन्तरता दिने गरेका छन् । भिरालो, सुक्खा जमिन भएको र सिँचाइ कुलोको समेत सम्भावना नभएकाले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको छ ।

पर्याप्त पौष्टिक आहारको कमी र दैनिक व्यक्तिगत सरसफाइमा सुधार नभएकाले ३० वर्षकै कलिलो उमेरमा युवक युवतीको मुहार चाउरिएको देखिने गरेको स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी जयबहादुर मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, 'मानव विकास सूचकाङ्क सर्वेक्षणको तथ्याङ्क अनुसार मुगुका बासिन्दाको औसत आयु ४८ वर्ष मात्र छ ।' यहाँका बासिन्दाको स्थास्थ्य अवस्था खानपानसँग आधारित भएकाले यो अवस्था आएको उहाँले बताउनु भयो । उद्योग वाणिज्य सङ्घ मुगुका अध्यक्ष कमल बुढाका अनुसार आन्तरिक उत्पादनले नपुगेर मुगुमा हरेक वर्ष ३०–४० मेट्रिक टन खाद्यान्न बाहिरबाट आउने गरेको छ ।

कृषि विकास कार्यालय, मुगुका कार्यालय प्रमुख चन्द्रबहादुर शाहीले यहाँका महिलाले परम्परागत रूपमा खेती गर्ने भएकाले धेरै मेहनत गरेपनि मेहनत अनुसार अन्नबाली उत्पादन नहुँदा हरेक वर्ष खाद्यान्न सङ्कट पर्ने गरेको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार मुगुमा वार्षिक ६ हजार ४ सय ३९ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको छ ।


मानदत्त रावल