वडा कार्यालय तोडफोड घटनाको इन्सेकद्वारा अनुगमन

  ०८१ असोज १८ गते 

विद्यालयमा बाढी प्रभावितलाई आश्रय दिएको र विद्यालयले सञ्चालन गर्नुपर्ने अर्धवार्षिक परीक्षा सञ्चालन गर्न नदिएको आरोपमा असोज १६ गते इनरुवा नगरपालिका-४ वडा कार्यालय तोडफोड भएको घटनाको इन्सेकले अनुगमन गरेको छ ।

इनरुवा नगरपालिका-४ स्थित ज्ञानोदय आधारभूत विद्यालयमा बाढीले विस्थापित भएकालाई राखेको र अर्ध वार्षिक परीक्षा सञ्चालनका लागि वाधा पुर्‍याएको आरोपमा विद्यार्थीले इनरुवा नगरपालिका-४ को वडा कार्यालयमा ०८१ असोज १६ गते तोडफोड गरेको घटनाको इन्सेक, सुनसरीले अनुगमन गरेको हो ।

इनरुवा नगरपालिका-४ वडा कार्यालयको निर्देशनमा बाढीका कारण विस्थापित भएकालाई विद्यालयमा आश्रय दिने निर्णय गरेको भन्दै ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीले असोज १६ गते वडा कार्यालय तोडफोड गरेका थिए ।

घटनाको अनुगमनका क्रममा इनरुवा नगरपालिका-४ का वडाध्यक्ष बौलालाल मेहताले वडा-४ का बाढी प्रभावितलाई विद्यालयमा रहरले नभई बाध्यताले राखेको इन्सेक अनुगमनका क्रममा बताउनु भयो । वडाध्यक्ष मेहताले भन्नुभयो-बाध्यताले विद्यालयमा बाढी प्रभावितलाई राखेकोमा विद्यालयका प्रधानाध्यापकको निर्देशनमा वडा कार्यालयमा तोडफोड भयो ।

विद्यालयका प्रधानाध्यापक ५२ वर्षीय रामविलास मेहताले आफ्नो निर्देशनमा नभइ विद्यार्थीले भीडले वडा कार्यालयमा तोडफोड गरेको बताउनु भयो ।

परीक्षा सञ्चालनमा अवरोध भएको र बाढी प्रभावितका कारण विद्यालयमा फोहोर भएको भन्दै कार्यालयमा विद्यार्थीले तोडफोड गरेको प्रधानाध्यापक मेहताले इन्सेक प्रतिनिधिलाई अनुगमनका क्रममा बताउनु भयो ।

विद्यालयले वडाध्यक्ष बौलालाल मेहताको कार्यकक्षको ढोका, दुई ओटा कुर्सी र नेम प्लेटमा तोडफोड गरेका छन् । वडा कार्यालयले घटना सुनियोजित भएको आरोप लगाउँदै कानुनी कारबाही अघि बढाउने भएको छ ।

इन्सेक अनुगमनका क्रममा ज्ञानोदय आधारभूत विद्यालयमा कक्षा-५ मा अध्ययनरत १२ वर्षीय बालक नितेश शर्माले विद्यालय बाहेकको स्थानमा विस्थापितलाई राख्नुपर्ने र परीक्षा सुरु गर्नुपर्ने बताउनु भएको छ ।

Photo 202401002 sunsari (1)

Photo 202401002 sunsari (2)

Photo 202401002 sunsari (3)

Photo 202401002 sunsari (4)

Photo 202401002 sunsari (5)

 


जयकृष्ण यादव