वडा कार्यालयमा कर्मचारी नहुँदा पञ्जिकरण सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या

ओखलढुङ्गाका स्थानीय तहका वडा कार्यालयहरूमा वडा सचिव नहुँदा सेवा प्रभावकारी सेवा नभएको सेवाग्राहीले गुनासो गरेका छन् ।

आठ स्थानीय तहका ७५ वडामा अहिले २० जना वडा सचिव मात्र कार्यरत रहेका छन् । प्राविधिक सहायक र अहेवलाई समेत जिम्मा दिएर वडा सञ्चालन गरिएको छ । सचिव नभएपछि पञ्जीकरण र सामाजिक सुरक्षा भत्ता वितरणको काम समेत काम रोकिने गरेको छ ।

वडा सचिव नभएपछि वडा अध्यक्षहरू कर्मचारीको रूपमा काम गर्दा समेत सेवा प्रवाह प्रभावकारी नभएको सुनकोसी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले बताए । उनले वडामा सचिव नभएपछि सेवाग्राही समस्यामा पर्ने गरेको बताए ।

सुनकोसी गाउँपालिकामा दरबन्दीका दुई जना मात्र वडा सचिव छन् । यो गाउँपालिकामा १० वटा वडा रहेका छन् । लिखुमा पनि वडा सचिव नहुँदा समस्या छ । वडा सचिवलगायतका कर्मचारी नहुँदा सेवाग्राही सेवाबाट वञ्चित हुने अवस्था आएको गाउँपालिकाकी उपाध्यक्ष शान्ता ढुङ्गेलले बताइन् ।

स्थानीय सरकारले कर्मचारी समायोजन गरेर दरबन्दी पुरा गर्न जिल्लास्थित कर्मचारी समायोजन समितिलाई माग गरे पनि यसको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।

वडा कार्यालयमा सचिवसहितका कर्मचारी नभएपछि सामाजिक सुरक्षा भत्ताको विवरण अध्यावधिक र वितरण समेत समयमा हुन नसक्दा भत्ता पाउने नागरिक मर्कामा परेका हुन् । विकास निर्माणका काम, योजना सम्झौता लगायत प्रभावित भएका छन् ।

स्थानीय सरकारले दिने सेवा प्रभावकारी बनाउन कर्मचारी व्यवस्थापन गर्नु पर्ने सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले बताए ।


शिवप्रसाद ढुङ्गाना