वडा कार्यालयमा आगजनी, आरोपित विरूद्ध प्रहरीमा उजुरी

  ०७८ असोज ७ गते

वीरेन्द्रनगर नगरपालिका– १ को कार्यालयमा आगजनी गरेको आरोपमा सोही वडाका २५ वर्षीय वास्ताम लामिछाने विरूद्ध वडाध्यक्षले असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

कार्यकक्षमा वडाध्यक्ष नभएको भन्दै वडा कार्यालयकै फोनबाट अध्यक्षलाई धम्की दिएका लामिछानेले ०७८ असोज ६ गते कार्यालयमा पेट्रोल छर्केर आगो लगाएको उजुरीमा उल्लेख छ ।

आगजनी हुँदा आफ्नो कार्यकक्षको कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको वडाध्यक्ष गङ्गाराम सुनारले बताउनुभयो ।

अध्यक्ष सुनारका अनुसार लामिछानेले ६ गते विहान १० बजेर ४ मिनेटमा  वडा कार्यालयकै फोनबाट अध्यक्षलाई फोन गरेर कार्यकक्षमा आउनु पर्दैन भन्दै झोक्एिर बोलेका थिए ।

‘कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् । यदि हतार नै हो भने शुभ होटेलमै आउनुस् भनें’ अध्यक्ष सुनारले भन्नुभयो,‘उनले फेरि फोन गरेर तपाईं आउनुहुन्छ कि तपाईको कार्यालय जलाइदिम ? भनेर धम्की दिएर फोन काटे । लगत्तै तिनै व्यक्तिले कार्यकक्षमा पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’

आफू कार्यक्रमको लागि वीरेन्द्रनगर नपा–३ स्थित शुभ होटेलमा गएकोले कार्यवाहक अध्यक्ष बुद्दीसरा सुनार रहेको र उहाँ गेटमा पुगेको समयमा कार्यालय जलेको अध्यक्ष सुनारको भनाइ छ ।

फरार रहेका आरोपित लामिछानेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आगजनी भए लगत्तै वीरेनद्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले घटनास्थलको निरीक्षण गर्नुभएको छ  । सरकारी सम्पतीमाथि क्षति पुर्‍याउने कसैलाई पनि कानुनले नछोड्ने उहाँको भनाइ छ ।

photo 20210922 surkhet 2

photo 202109 22 surkhet


विनोद लम्साल