वडा अध्यक्षमाथि आक्रमण

  ०७६ असोज १२ गते

चिसङ्खुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतमाथि असोज ११ गते राति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटीका सचिवालय सदस्य अशोककुमार थापाले आक्रमणमा गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

photo20190939okhandhunga

खाना खानसँगै बसेको अवस्थामा पार्टीको आन्तरिक विवादको विषयलाई लिएर थापाले वडा अध्यक्ष बस्नेतमाथि सिसाको ग्लास प्रहार गरी घाइते बनाएका हुन् । बस्नेतको निधारमा गहिरो चोट लागेको छ ।

असोज ११ गते बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा तथा खाना खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि ग्लास प्रहार गरेर घाइते बनाएको बस्नेतले बताए ।

 

‘पार्टीको कार्यक्रम तथा थापाले काम गरेको विकासका योजनाको पारदर्शीताको विषयमा प्रश्न उठाउँदा गाली गलौज गरेर मलाई आक्रमण गरेर घाइते बनाए ।’–बस्नेतले भने ।

बस्नेतको उपचार खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा भइरहेको छ । अहिले अवस्था सामान्य छ । बस्नेत नेकपाका चिसङ्खुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् ।

पार्टीको आन्तरिक असहमतिका विषय र विकासका योजनाका विषयमा यसअघि देखि नै थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुने गरेको थियो ।

वडा अध्यक्षमाथि आक्रमण गरेको विषयमा थापाले आफू र प्रदेश सभाका सांसद अम्बिरबाबु गुरुङलाई जोडेर गाली गलौज गरेर आक्रमण गर्न खोज्दा प्रतिवाद गरेको दावी गरे ।

उनले आफूमाथि हात हालेपछि घटना भएको स्वीकारे पनि ग्लास प्रहार नगरेको जिकिर गरे । आरोपित थापाको नेकपाका स्थानीय कमिटी तथा जनप्रतिनिधिसँग विकासका योजना सञ्चालन गर्ने विषयमा विगतदेखि नै विवाद हुँदै आएको थियो ।

थापाले जिम्मा लिएर काम गरेको चार्खु–आँपस्वाँरा सडक आयोजनामा भएको भनिएको अनियमितताको विषयको छलफल भएपछि थापाले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए ।

थापाले सञ्चालन गरेको प्रदेश स्तरको योजनामा आर्थिक अनियमितता भएको जनप्रतिनिधको भनाइ छ । बस्नेतले थापाविरूद्ध उजुरी गर्ने असोज १२ गते इन्सेक प्रतिनिधिलाई बताए ।


शिवप्रसाद ढुङ्गाना