वडाध्यक्ष र वडासचिवमाथि दुर्व्यवहार, घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७८ माघ ११ गते

वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीमाथि मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले माघ ११ गते चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

माघ १० गते धरान बजारमा स्थानीयहरूसँग कुरा गरेर फर्किरहेको अवस्थामा गाडीमा चढेर आएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता जयपृथ्वी नगरपालिका–९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्का र गाडी चालक जयपृथ्वी नगरपालिका–७ सुवेडाका २३ वर्षीय विनोद बमका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको वडाध्यक्ष मल्लले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आर्थिक हिनामिना गरेको आरोपमा सो पार्टीका कार्यकर्ताहरूले मोसो दलेर सार्वजनिक स्थलमै दुर्व्यवहार गरेका कारण घटनामा संलग्न व्यक्तिहरूलाई कानुन अनुसार कारवाही गर्न र आफूहरूको शान्ति सुरक्षाको सुनिश्चितता गर्न पनि वडाध्यक्ष मल्लले माग गर्नु भएको छ ।

सो पार्टीका कार्यकर्ताहरूले पुस २४ गते पार्टीलाई १ लाख ५० हजार रुपियाँ चन्दा दिनु पर्‍यो भनेर फोन गरेको र वडा कार्यालयबाट चन्दा दिन नमिल्ने बताएपछि पुस २५ गते कार्यालयमा आएर वडाको सबै हिसावकिताब देखाउ भनेर भिडियो बनाउँदै धम्की दिएको वडासचिव अवस्थीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

वडा कार्यालयको हिसाव हेर्नका लागि निवेदन लिएर आउनु होला भनेर नेकपाका कार्यकर्ताहरूलाई पठाएको भएपनि त्यसपश्चात कोही पनि कार्यालयमा निवेदन लिएर नआएको तर माघ १० गते आफूहरूमाथि मोसो दलेर दुर्व्यवहार गरिएको वडासचिव अवस्थीले भनाइ छ ।

घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र सो पार्टीका कार्यकर्ता सवार गाडीका चालक विनोद मल्ललाई गिरफ्तार गरी आफन्तको जिम्मामा छाडिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताउनु भयो ।

घटनाका आरोपित विरुद्ध अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी समेत गरिएको डिएसपी विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

वित्थडचिर गाउँपालिका, नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति र नेपाली कांग्रेस जिल्ला कार्यसमिति, बझाङले माघ ११ गते प्रेस विज्ञप्ति जारी गरी फरक राजनीतिक आस्थाको भरमा दुव्र्यवहार गर्नेहरूलाई कानुन बमोेजिम कारवाहीको माग गरेका छन् ।


सत्यराजबहादुर सिंह