वडाध्यक्ष पौडेलमाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

खाँडादेवी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष मनोज पौडेललाई गाउँ कार्यपालिका कार्यालयबाट प्रदेश ३–०२–००१ मोटरसाइकलमा चढेर घर फर्कँदै गर्दा सडकमा बाटो छेकि सोही स्थानका नेपाली कांग्रेसका कार्यकर्ता ४५ वर्षीय विराज श्रेष्ठको नेतृत्वमा आएको कार्यकर्ताहरूले ०८० वैशाख २८ गते आक्रमण गरेका छन् ।

उनीहरूले पौडेल चढेको सरकारी मोटरसाइकल समेत तोडफोड गरे । आफू माथि आक्रमण भएपछि पौडेल भाग्नु भएको थियो । आक्रमणबाट मोटरसाइकलमा भने क्षति भएको छ ।

सो वडाको वडा कार्यालय भवन बनाउने स्थानको विषयमा विवाद थियो । वडाको आफ्नै जग्गा भएको ठाउँ पकरबासको ठाँटीमा भवन बनाउन सुरु गरेपछि फुल्पा क्षेत्रकाले सो स्थानमा भवन बनाउँदा अपायक पर्ने भन्दै विरोध जनाउँदै आएका थिए ।

तर वडा कार्यालयको जग्गा सोही ठाउँमा मात्र रहेको र यस अघि वडा कार्यालयले सोही स्थानमा रहेको कच्ची भवनबाट सेवा दिँदै आएकाले पुरानै ठाउँमा पक्की भवन बनाउन लागिएको वडाध्यक्ष पौडेलको भनाइ छ ।

गाउँपालिका अन्तर्गत भवन निर्माणका लागि बजेट परेपछि पुरानो भवन भत्काएर नयाँ भवन निर्माणको लागि काम सुरु गरिएको थियो ।

सर्वदलीय बैठकले समेत भवन बनाउने निर्णय गरी काम सुरु गरिएपछि स्थानीयले विवाद सुरु गरेका थिए । उनीहरूले भवन निर्माणको लागि गरिएको ले–आउट समेत भत्काइदिएका थिए ।

वडाध्यक्ष पौडेलमाथि आक्रमण भएको भन्दै खाँडादेवी गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको छ ।

गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले वडाध्यक्ष पौडेलमाथि आक्रमण गरी उहाँ चढेको सवारी सधान समेत तोडफोड गरी विधीको शासन विपरित कार्य गरेको भन्दै खाँडादेवी गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

सो घटनामा संलग्नलाई गिरफ्तार गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न गाउँपालिकाले माग गरेको छ ।

घटनाको बारेमा गाउँपालिकालाई वैशाख २८ गते नै जानकारी गराएको र वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने पौडेलले बताउनु भयो ।


नवराज पथिक