वडाध्यक्ष नहुँदा समस्या भएको भन्दै ज्ञापनपत्र

  ०८१ साउन २४ गते

साकेला गाउँपालिका-४ मात्तिमका स्थानीय लामो समयदेखि वडाध्यक्ष नहुँदा सिफारिस, विकास निर्माण र विभिन्न आयोजनाका काम प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् ।

साकेला गाउँपालिका-४ का वडाध्यक्ष अर्जुनकुमार कटुवाल अमेरिका गएपछि स्थानीयले वडाध्यक्ष नहुँदा विभिन्न समस्या भएको भन्दै गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका हुन् ।

वडाध्यक्ष नहुँदा नागरिकले दुख पाएको, विकासका कार्यहरू रोकिएको र महत्वपूर्ण कार्यहरु प्रभावित भएकाले तत्काल समस्या समाधानका लागि गाउँपालिका अध्यक्षलाई साउन २१ गते ज्ञापनपत्र बुझाएको सोही वडाका पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनु भयो ।

वडाध्यक्ष अर्जुनकुमार कटुवाल ०८० माघ १७ गते अमेरिका गएको र कार्यवहाक अधिकार वडा सदस्यलाई दिँदा साकेला गाउँपालिका-४ का स्थानीयले सास्ती पाएको पूर्व वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनु भयो ।

नागरिकको समस्याप्रति वडाध्यक्ष गैर जिम्मेवार भएकाले आफ्नै संयोजकत्वमा सर्वदलीय वैठक बसि निर्णय गरेर नै ०८१ साउन २१ गते गाउँपालिका अध्यक्ष रवि प्रकाश राईलाई ज्ञापनपत्र बुझाइएको संयोजक भट्टराईले बताउनु भयो ।

वडाध्यक्षका कारण हामी वडावासी अत्यन्तै मारमा परेका छौं, नागरिकताको सिफारिसदेखि विभिन्न विकास निर्माणका कार्यमा समेत नागरिकले दुख पाएकाले १५ दिनभित्र समस्या समाधानका लागि गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको संयोजक भट्टराईको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले  साकेला गाउँपालिका-४ वडाका वडाध्यक्षको विषयमा धेरै जनगुनासो आएपछि तत्कालका लागि कार्यपालिका वैठकले निर्णय गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको र दीगो समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताउनु भयो ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समस्याको समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको ज्ञापनपत्रमा उल्लेख छ ।

साकेला गाउँपालिका-४ का स्थानीयले साकेला गाउँपालिकामार्फत जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय खोटाङलाई ज्ञापनपत्र बुझाएका पठाएका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा वडाध्यक्षको पदावधि समाप्न नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पदपूर्ती गरिने उल्लेख छ भने एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नहुने स्पष्ट व्यवस्था समेत गरेको छ ।

Photo 20240808 Khotang (1)

Photo 20240808 Khotang (2)

Photo 20240808 Khotang (3)

Photo 20240808 Khotang (4)

Photo 20240808 Khotang (5)


तारानाथ फुयल