वडाध्यक्षलाई स्थानीयले कार्यालयभित्रै थुने

रुपाकोट मझुवागढी नपा-१५ विजयखर्कका वडाध्यक्ष विरेन्द्र ढकाललाई स्थानीयले वडा कार्यालयभित्रै ताला लगाएर थुनेका छन् ।

नगरपालिकाको १४ नम्बर वडाको बुइपाको पञ्चदोबाटो छेउदेखि वडा कार्यालय हुँदै माला जाने ३० लाख लागतको सडक निर्माण कार्यका लागि वडा कार्यालयले प्रकृया पूरा नगरी कार्य अघि बढाएको भन्दै स्थानीयले वडा कार्यालयभित्रै वडाध्यक्ष ढकाललाई ताला लगाई थुनेका हुन् ।

वडा कार्यालयलले उपभोक्ता समिति नियम अनुसार नबनाएको र आफ्ना मान्छेलाई उपभोक्ता समितिमा राखेर एकलौटी उपभोक्ता समिति बनाएको भन्दै ताला लगाएको स्थानीयले बताएका छन् ।

रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उपभोक्ता समिति निर्माण गर्दा वडाध्यक्षले एकलौटी गरेको भन्दै आफूलाई पनि निवेदन आएको र छानबिन गर्न नपाउँदै स्थानीयले ताला लगाइदिएको बताए ।

'वडा कार्यालयले सार्वजनिक सूचना प्रकाशन गरेर कार्यलाई अगाडि बढाएको हो । यसमा केही मानिसहरूको बुझाईमा कमी भएको हो ।'-रिजालको भनाइ छ ।

स्थानीयले उपभोक्ता समिति गठनमा चित्त नबुझेको भन्दै गुनासोको निवेदन दिन चाहेको तर, वडा कार्यालयले निवेदन लामो समयदेखि लिन नमानेका कारण उनीहरूले ताला लगाएको प्राराम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए ।

यद्यपी, वडाध्यक्ष ढकाललाई प्रशासनको निर्देशनमा थुनिएको केही समयपछि निकालिएको जनाइएको छ । ताला लगाउने स्थानीयलाई छलफलका लागि झिकाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको भनाइ छ  ।


सुनिता मगर