वडाध्यक्षद्वारा प्रहरी कुटिए

  ०८० असार २१ गते

अदानचुली गाउँपालिकाको गल्फागाड प्रहरी चौकीमा कार्यरत २८ वर्षीय प्रहरी जवान जीवन चपाईलाई अदानचुली गाउँपालिका–३ का वडाध्यक्ष डिलबहादुर फडेरा र सोही गाउँपालिका–४ का वडाध्यक्ष मनश्रषि पाण्डेले असार २० गते कुटपिट गरेका छन् ।

अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई असार २० गते कार्यकक्षमै कुटपिट भएको भन्ने सूचना आए लगतै सोही ठाउँको प्रहरी टोली घटनास्थलतर्फ जाँदैगर्दा बीच बाटोमा वडाध्यक्षद्वयले प्रहरी जवानलाई कुटपिट गरेको सोही प्रहरी चौकीमा कार्यरत असई कुमार गिरीले जानकारी दिनु भएको हो ।

असई गिरीका अनुसार प्रहरी टोली घटनास्थलमा नपुगेको बीचबाटोमै आरोपितले कुटपिट गरेको बताउनु भएको छ । पेटमा चोट लागेका घाइते प्रहरीलाई उपचारका लागि असार २१ गते सुर्खेत लगिएको असई गिरीले बताउनु भएको छ ।

आरोपितलाई हालसम्म नियन्त्रणमा नलिएको र घटनाको थप अनुसन्धानका लागि सदरमुकाम सिमकोटबाट इन्स्पेक्टर दिपक मल्लको टोली घटनास्थलतर्फ गएको डिएसपी भिमलाल भट्टराईले बताउनु भएको छ ।

घटनाका विषयमा गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्न खोज्दा उहाँसँग यो समाचार तयार गर्दासम्म सम्पर्क हुन सकेन । घटनास्थलमा पुग्न सदरमुकामदेखि दुई दिन लाग्छ ।


नन्द सिंह