वडाध्यक्षको कुटपिटबाट एक जना स्थानीय घाइते

  ०८० भदौ २१ गते

खप्तड छेडेदह गाउँपालिका–३ का नरबहादुर बुढालाई सोही गाउँपालिका ३ का वडाध्यक्ष बिर्ख रावतले ०८० भदौ १९ गते कुटपिट गरेका छन् ।

स्थानीय निर्वाचन २०७९ मा आफूलाई भोट नदिएको भन्दै वडा कार्यालय नजिकै रहेको पसलमा दिउसै मदिरा सेवन गरेर वडाध्यक्ष रावतले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।

वडाध्यक्ष रावत र उहाँका कार्यकर्ताहरु भदौ १९ गते दिउसोदेखि नै मदिरा सेवन गरी स्थानीयहरुलाई गालिगलौज गर्दै हिडेका र साँझको समयमा धारीलो हतियार प्रयोग गरी बुवालाई मरणासन्न हुने गरी कुटपिट गरेको पीडितका छोरा टेकबहादुर बुढाले बताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा भोट नहालेको भनेर यस अगाडि पनि पीडित बुढालाई वडाध्यक्ष रावतले पटकपटक धम्की दिदै आउनु भएको पीडितका छोरा बुढाको आरोप छ ।

वडाध्यक्ष र उहाँका कार्यकर्ताहरुको कुटपिटबाट टाउँको र शरीरका बिभिन्न भागमा चोट लागि घाइते हुनु भएका बुढाको स्वास्थ्य उपचार डोगटी स्वास्थ्य चौकीमा भइरहेको छ ।

स्थानीय पसलमा मदिरा सेवनपछि निर्वाचनका सन्दर्भमा समान्य विवाद भएको र नरबहादुर बुढाले हात टोक्दा आफूले प्रतिवाद गरेको वडाध्यक्ष रावतले इन्सेक प्रतिनिधिसँगको टेलिफोन सम्पर्कमा बताउनु भयो ।

वडाध्यक्ष रावतले मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गरेको सुन्नमा आएको र  पीडित बुढालाई सम्पर्क गर्दा उपचारको क्रममा रहेको जानकारी दिनु भएको दोगडा प्रहरी चौकीका असई देबदत्त पन्तले बताउनु भयो । पीडित पक्षबाट अहिलेसम्म लिखिन उजुरी नआएको असई पन्तको भनाइ छ ।

घटनाका आरोपित रावत ०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो  ।


पदमबहादुर सिंह