वडाध्यक्षका उम्मेदवारसहित तीन जनाको मनोनयन रद्द

  ०७९ वैशाख १६ गते

नेपालगञ्ज उपमनापा–१७ का नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारसहित तीन जनाको मनोनयन रद्द भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौँलागाईंका अनुसार नेपालगञ्ज उप–महानगरपालिका–१७ को वडाध्यक्षका उम्मेदवार अजयकुमार पाठक, वडा नम्बर– ३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नम्बर– ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

एमालेको तर्फबाट मनोनयन गरेका पाठकलाई बैङ्कले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी वडा नम्बर ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज