वडाअध्यक्षद्वारा गाउँपालिकामा लगाएको ताला अझै खुलेन

गाउँपालिकाको सदरमुकाम केन्द्र सारिएको विरोधमा दार्चुलाको नौगाड गाउँपालिका गत असोज २ गतेबाट लगाइएको ताला अझै खुलेको छैन । नौगाड गाउँपालिका-६ का वडा अध्यक्ष गोरै धामीको नेतृत्वले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

नौगाड गाउँपालिकाको गाउँसभाको बहुमत निर्णयले गाउँपालिकाको सदरमुकाम केन्द्र सबैको केन्द्र पर्ने होपरीगाड सार्ने निर्णयको विरोधमा तालाबन्दी भएको हो । गाउँपालिकाको केन्द्र सार्न नहुने पक्षमा हाल सञ्चालनमा रहेको वडा नम्बर ६ को वडा मात्रै रहेको छ ।

'स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गाउँपालिका बनाउँदा गाउँपालिका केन्द्र सौकेबगर जामिर भनेर तोकेको थियो । सोही निर्णयलाई आधार मान्दै गाउँपालिका सदस्यहरूको बहुमत निर्णयलाई आधार मान्दै गाउँपालिका केन्द्र सबैको पायक पर्ने ठाउँमा सार्ने निर्णय भएको हो ।'- गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले भने ।

'सबै जनताको पायक पर्ने ठाउँमा गरिएको निर्णय कुनै हालतमा परिवर्तन गर्न सकिँदैन । हालको नौगाड गाउँपालिका साविकको खार, सिप्टी, इयरकोट र धुलीगडा गाविस मिलेर बनेको हो । भौगोलिक दुरी, सहजताको हिसाबले अहिले कायम गरिएको होपरीगाड धेरैको पायक पर्ने ठाउँ हो ।'-अध्यक्ष धामीले भने ।

हाल काम गर्दै आएको साविकको धुलीगडा गाविसको भवनमा गाउँपालिका केन्द्र बनाउँदा वडा नम्बर ६ लाई मात्रै पायक पर्ने उनको तर्क छ । उनका अनुसार इयरकोट, खार र सिप्टीका जनतालाई अन्याय हुन्छ ।

नौगाड गाउँपालिकाका कार्यकारी अधिकृत मोहनसिंह धामीले पनि अहिलेको गाउँपालिका केन्द्र राखिएको ठाउँ सबैको लागि उपयुक्त नभएको बताए । भौगोलिक दुरीको हिसाबले हेर्दा गाउँपालिकाको मध्यविन्दु होपरीगाड भन्दा पनि माथि हुन जाने कार्यकारी अधिकृत धामीको भनाई छ ।

भुगोलको हिसाबले पनि अहिले निर्णय गरिएको ठाउँ वडा नम्बर १, २, ३, ४ र ५ का जनतालाई पायक पर्ने ठाउँ होपरीगाड नै उपयुक्त भएको स्थानीय रघुबीरसिंह ठगुन्नाले बताए । 'अहिले गाउँसभाले गरेको निर्णय पनि धुलीगडाकै साविकको ९ नम्बर वडामा गाउँपालिका केन्द्र रहेको छ ।'-ठगुन्नाले भने ।

गाउँपालिकाको केन्द्र होपरीगाडमा स्थापना गर्ने निर्णय भएपछि होपरीगाडका स्थानीयले जमीन समेत उपलब्ध गराउने भएका छन् । जग्गा गाउँपालिकाको नाममा हाल्ने काम अन्तिम चरणमा पुगेको छ ।

होपरीगाडका चार परिवारले ८ रोपनी भन्दा बढि दान दिने तयारी गरेको जग्गादाताले बताएका छन् ।

स्थानीय किसनसिंह ठगुन्ना, जीतसिंह ठगुन्ना, दलबहादुर ठगुन्ना र देवसिंह ठगुन्नाले गाउँपालिकालाई जग्गा दान दिन लागेका हुन् ।

'जग्गा दान दिनको लागि आवश्यक लेखापढी पूरा गरेका छौँ ।'-जग्गदाता देवसिंह ठगुन्नाले भने-'बुधबार गाउँपालिका उपाध्यक्ष गौरी ठगुन्ना आएपछि जग्गादान प्रक्रिया पूरा गर्र्छौँ ।'


नरेन्द्रसिह कार्की