लोसपाबाट मठिहानी मेयर पदका उम्मेदवार मण्डलमाथि हातपात

  ०७९ वैशाख २८ गते

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट महोत्तरीको मठिहानी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिप्रसाद मण्डलमाथि एक समूहले हातपात गरेको पीडितको आरोप छ ।

वैशाख २७ गते राती ८ बजे चुनाव प्रचारको क्रममा मठिहानीबाट बरदाहा तर्फ जाँदै गर्दा मण्डल सवार गाडी एकिकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार रहेका बिजय चौधरीका छोरा दिपेशले बाटो छेकेर उनी सहित उनका कार्यकर्तालाई गालीगलौज तथा हातपात गरेको मेयर पदका उम्मेदवार मण्डलले बताउनु भयो ।

मेयर पदका उम्मेदवार मण्डलले भन्नु भयो,–‘गाडी किन ओभर टेक गरेको भन्दै निहुँ खोजेर उनले गाडी अगाडी मोटरसाइकल राखेर बाटो अवरुद्ध गर्दै हाम्रो गाडीको चालकलाई गाली गर्न थाले । हामी जाउँ भन्दा म माथि पनि उनले हातपात र दुव्र्यहार गरे । त्यसपछि हामी भागेर ज्यान बचायौँ, नभागेको भए घरेलु हत्यार प्रयोग गरेर आफूमाथि सङ्घातिक आक्रमणको प्रयास हुने थियो ।’

घटना सुनेर हेर्न पुगेकाहरुलाई स्थानीय जयकुमार चौधरीले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरु आठ दश जनाको समूहमा जम्मा भएका थिए ।

सोही समयमा मठिहानी मै सांसद चन्दा चौधरीको घरमा पनि आक्रमण प्रयास भएको छ । उहाँलाई प्रहरीले सुरक्षा दिएर जलेश्वर तिर पठाएका थिए ।

मेयरका उम्मेदवार मण्डल सवारगाडी तोडफोड र दुर्व्यवहार भएकोे जानकारी भएलगतै घटना स्थलमा प्रहरी टोली पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पङ्गेनीका अनुसार प्रतिनिधिसभा सदस्य चन्दा चौधरीको घरमा पनि हुलहुज्जत भएको छ । सुरक्षाका लागि उहाँलाई मठिहानीबाट प्रहरीको सुरक्षामा रातीनै जलेश्वर तर्फ ल्याएको थियो ।

हातपात तथा हुलहुज्जत गर्ने समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ । उनीहरु फरार रहेकोले खोजी कार्य तिब्र पारिएको एसपी पङ्गेनीले बताउनु भयो ।


अजयकुमार साह