लोपोन्मूख जातिमा सूचीकृत नगरेकोमा मगन्ता समुदायको गुनासो

बाँकेको हिरिमिनिया गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका मगन्ता (महाउत) जातिलाई राज्यले सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत गठित सूचीकृत गर्ने विशेष कार्यदलले ०५८ सालमा मगन्ता/महाउत समुदायलाई लोपोन्मुख जातिमा समावेश गर्नका लागि सबै विवरण अभिलेखीकरण गरेपनि लोपोन्मूख जातिमा सूचीकृत नगरेको महाउत समुदायका संयोजक खेदु महाउतले बताए ।

महाउत अर्थात मगन्ता नामले चिनिने आफूहरूलाई राज्यले लोपोन्मुख जातिमा सूचीकृत नगर्दा बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्तासमेत नपाएको संयोजक खेदुले गुनासो गरे ।

बाँकेको हिरिमिनिया गाविसमा ६५ घरपरिवारका ३ सय ७१ जना महाउत बसोबास गर्दै आएका छन् । दुई वर्षदेखि पाँच वर्षउमेर समूहका बालबालिकालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता पनि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ०६९ माघ ११ गतेको चलानी नम्बर ४ सय ६४ को पत्रानुसार सामाजिक सुरक्षा कार्यविधि ०६५ को बुँदा नम्बर ३ क (इ) अनुसार अनुसूची १ मा सामाजिक सुरक्षा भत्ता वृत्ति लक्षित समूहलाई दिने भन्ने परिपत्रले सूचीकृत नहुँदा रोकिएको खेदु महाउतले बताए ।

मगन्ताका पूर्खाहरूले सिङ लगाउने, आयुर्वेद उपचार गर्ने र मागेर खाने गर्दथे । अहिले उनीहरूसँग खेती गरेर जिविका चलाउन न जमीन छ न त मागेर नै जिविका चल्छ । पटक पटक आफूहरूले राज्यसँग आफ्ना माग राखेपनि हालसम्म सम्बोधन नभएको मगन्ता समुदायका अगुवा खेदु महाउतले गुनासो गरे ।


विनोद पाण्डे