'लोकतन्त्रमा निर्वाचन अपरिहार्य'-पूर्व आयुक्त प्याकुरेल

  ०७४ जेठ २९ गते

लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुने भएकाले निर्वाचन सफल बनाउनु सबैको दायित्व हुने राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त एवम् इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बताएका छन् ।

पूर्व आयुक्त समाजः राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा जेठ २९ गते जिल्ला सदरमुकाम खलङ्गामा आयोजित स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व आयुक्त प्याकुरेलले भने-'मत दिन्न भन्न पाइन्छ । तर, निर्वाचन भाँड्ने अधिकार कसैमा छैन ।'

पहिलो चरणको निर्वाचनमा देखिएका चुनौतीलाई समाधान गर्न सबै निकायले आआफ्नो ठाँऊबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । 'निर्वाचनमा चुनौती देखिएकाले नै दुई चरणमा निर्वाचन गरिएको हो ।'-उनले भने-'भरतपुरमा मत च्यातेको घटनाले थप संवेदनशील बनाएको छ ।'

स्वतन्त्र निर्वाचनका लागि प्राविधिक र सैद्धान्तिक वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । निर्वाचन आयोगलाई अधिकार सम्पन्न गराउन नसक्दा पटक-पटक चुनाव सार्ने, निर्वाचन चिन्ह प्रदानमा विवाद देखिने जस्ता घटना भएको उनको तर्क थियो ।

कार्यक्रममा बोल्दै पूर्व आयुक्त डा.गौरीशङ्कर लालदासले निर्वाचन प्रक्रियामा कसैले बाधा पुर्‍याउन नहुनेमा जोड दिए । तराईमा राष्ट्रिय जनता दल र पहाडमा नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कारको नीति लिएकाले यसलाई शान्तिपुर्ण बनाउन सुझाव समेत दिए ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले प्यूठानका मतदाताले आफ्नो मताधिकार स्वतन्त्र रूपले प्रयोग गर्ने वातावरण रहेको उल्लेख गरे । निर्वाचन तयारीका विषयमा जानकारी दिँदै जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न दलहरूलाई आग्रह गरे ।

कार्यक्रमका सहभागीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न, महिलालाई समेत प्रमुखमा उम्मेदवार बनाउन, तडकभडकको चुनावी प्रचार नगर्न दलहरूलाई सुझाव दिए ।


रविन्द्र पाण्डे