प्रहरी कार्यालय परिसरमै पतिद्वारा पत्नीमाथि कुटपिट

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको भोलिपल्टै लमजुङमा प्रहरी कार्यालय परिसरभित्रै पतिद्वारा पत्नीमाथि कुटपिट भएको छ ।

२३ वर्षीया कृषा रिमाललाई उहाँका पति बेसीशहर–६ मकैडाँडा निवासी २४ वर्षीय सघन रिमालले मङ्सिर १० गते  प्रहरी कार्यालयको गेट अगाडि नै कुटपिट गरेको पीडितले बताउनुभयो ।

पीडित कृषा रिमालले आफुलाई घरपरिवारले निरन्तर रुपमा शारिरीक तथा मानासिक याताना दिएको भन्दै भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । सोही यातनाका कारण उहाँ डेढ महिनादेखि चितवनमा माइतीमा बस्दै आउनुभएको थियो । उहाँको चार वर्षीया छोरीलाई आँफुसंगै लानको लागि जिल्ला प्रहरीमा निवेदन दिनुभएको थियो ।

प्रहरी कार्यालयले छोरी उपलब्ध गराइदिने भनेपछि कृषा मङ्सिर १० गते  घरबाट छोरी लिएर  जिल्ला प्रहरी कार्यालय परिसर भित्र आइपुग्दा उहाँको  पति, जेठाजु विराज रिमाल, सासू रुपा रिमालले उहाँ र उहाँको बुबालाई समेत कुटपिट गरी पतिले छोरी खोसेर फरार भएको उहाँले बताउनुभयो ।

केही समयपछि मात्र प्रहरी आएर सासू र जेठाजुलाई नियन्त्रणमा लिएको थियो र पति सघन रिमाललाई फोन गरेर छोरी ल्याउन निर्देशन दिइएको थियो । पछि छोरीलाई आमालाई बुझाएर प्रहरीले सघनलाई केही समय हिरासतमा राखेपनि  जाहेरी लिन भने नमानेको साथै दबाब दिएर मिलापत्र समेत गराएको कृषाका बुबा कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेता पनि जिल्लामा भने हिंसाका गतिविधिमा कुनै कमी आएको छैन ।


सुमित्रा भुजेल