लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा इन्सेक प्रतिनिधि

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको अध्यक्षमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् ।

Photo20171025Saptari

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको कात्तिक ८ गते सम्पन्न बैठकले उनलाई अध्यक्षमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

समितिको उपाध्यक्षमा महिला सुरक्षा दबाव समूहकी सचिव ललिता कर्ण र कोषाध्यक्षमा एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा रहेका छन् । समितिमा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख एवम् इन्स्पेक्टर सुजता तुम्वाहाम्फे पदेन सदस्य सचिव छिन् ।

नवगठित कार्यकारिणी समितिको सदस्यहरूमा जिल्ला सेवा केन्द्रकी प्रमुख विष्णु कोइराला, जिल्ला बार एशोसिएसनकी मिना देव, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, हुपेककी उपाध्यक्ष उमा पोखरेल, सहयोगी समाजका परियोजना प्रमुख देवनारायण चौधरी, नारी उत्थान तथा समाज सेवा केन्द्रकी बबिता देव, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) की सम्पर्क व्यक्ति मनिषा सिम्खडा, महिला सचेतना समाजकी सुनिता साह, पारालिगल समितिकी अध्यक्ष ज्ञानु भट्टराई, जिल्ला बाल सञ्जालका अध्यक्ष अमर यादव सर्वसम्मतिले चयन भएका छन् ।

समितिले जिल्लामा महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाहरूको कारण पहिचान गरी हिंसा प्रभावितलाई न्याय प्राप्तिका लागि सुरक्षाको अनुभूति, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गर्ने र पीडितलाई सेवा प्रदान गर्ने कार्य गरिरहेको छ ।

उपरोक्त सम्बन्धमा सम्बन्धित सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायहरूसँग समन्वय र सहकार्य गरी लैङ्गिक हिंसा पीडितहरूलाई सहयोग र न्यायमा पहुँच पुर्‍याउने जिल्ला समन्वय समितिका संयोजक एसपी मुकेशकुमार सिंहले जनाए ।

समन्वय समितिका संयोजक एसपी सिंहको अध्यक्षतामा सम्पन्न बैठकले विगतको कामको समीक्षा गर्नुका साथै बजेट र कार्ययोजनाका बारेमा छलफल गरेको छ । समन्वय समितिको बैठकमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका कार्यालय, नागरिक समाज, सप्तरी जिल्ला बार एशोसिएसन, जिल्ला बाल कल्याण समिति, कानुनी सहायता समितिका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।


मनोहरकुमार पोखरेल