लेखापाल कुटपिट घटनाको आरोपमा क्याम्पस प्रमुख विरुद्ध उजुरी

  ०७८ माघ २६ गते

महावै गाउँपालिका–४ निवासी तिला कर्णाली बहुमुखी क्याम्पस प्रमुखमा कार्यरत ३९ वर्षीय लक्ष्मण सिंहले कार्यकक्षमा कुटपिट गरी घाइते बनाएको आरोपमा खाँडाचक्र नपा–२ निवासी सोही क्याम्पसका लेखापाल ४८ वर्षीय पदम बहादुर विष्टले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा माघ २६ गते उजुरी दिनु भएको छ ।

क्याम्पस प्रमुख सिंहको कुटपिटबाट घाइते विष्टको उपचार जिल्ला अस्पताल, कालिकोटमा भएको जिल्ला अस्पतालका निमित्त प्रमुख रत्नविर सुनारले बताउनु भएको छ ।

लेखापाल विष्टलाई क्याम्पस प्रमुखले माघ २४ गते बिहान कुटपिट गरेको भन्दै पीडितले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपित क्याम्पस प्रमुख सिंहलाई नियन्त्रणमा राखेर साँझ छोडे पनि जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी सिद्धराज न्यौपानेले इन्सेक प्रतिनिधिलाई गिरफ्तार नगरेको बताउनु भएको छ ।

डिएसपी न्यौपानेले लेखापाल कुटिएको विषयमा विश्वविद्यालयले छानबिन समिति बनाएको क्याम्पस प्रमुखबाट तत्कालका लागि निलम्बन गरेको हुनाले प्रहरीले उजुरी दर्ता गर्न नमिल्ने जानकारी दिनु भयो ।

क्याम्पस प्रमुखले मदिरा सेवन गरी आफूलाई विना कारण कार्यकक्षमा कुटपिट गरेको लेखापाल विष्टको आरोप छ । “क्याम्पस प्रमुखले आफ्नो कोठामा बोलाएर चुकुल लगाई कुटेपछि क्यम्पसका अन्य कर्मचारी आइ बचाए ।” लेखापाल विष्टले गुनासो गर्नु भयो ।

प्रहरीले शक्ति र पहुँचको आधारमा मुद्दा दर्ता गर्न मानेको छैन” लेखापाल विष्टले इन्सेक प्रतिनिधिसँग दुखेसो पोख्नु भयो ।

घटनाका विषयमा क्याम्पसका प्रध्यापक, कर्मचारीले माघ २४ गते विज्ञप्तिमार्फत निन्दा गर्नुका साथै क्याम्पस प्रमुखलाई कानुनी कारवाहीको माग गरेका छन् । प्रध्यापक रूद्रप्रसाद सापकोटा, ताराकेशर रावत, धर्मराज कँडेल, कृष्णप्रसाद भण्डारी, दिपक थापा, मिठ्ठुकुमारी शाही, खड्कराज शाही, कुलप्रसाद बराल तथा कर्मचारीहरू पदमबहादुर विष्ट, दानबहादुर सिंह, नयनबहादुर शाही, रविन्द्रबहादुर विष्ट, विष्णुप्रसाद पाण्डेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा लक्ष्मण सिंहले क्याम्पस प्रमुखको रुपमा विश्वविद्यालयले नियुक्त गरे पश्चात क्याम्पसको शैक्षिक, भौतिक तथा प्रशासनिक गतिविधि खस्कदै आइरहेको बेलाबेलामा क्याम्पस हाताभित्र मदिरा सेवन गरी क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई गाली गर्ने गरेको बताइएको छ ।

साथै माघ २४ गते यस क्याम्पसमा कार्यरत कर्मचारी पदमबहादुर विष्ट आफ्नै कार्यकक्षमा नियमित काम गरिरहेको समयमा क्याम्पस प्रमुखले मदिरा सेवन गरी आफ्नो कोठामा बोलाई लाठी तथा हातहतियार प्रयोग गरी कुटपिट गरेको कार्यरत क्याम्पस प्रमुखले गरेको अप्राज्ञिक तथा अपराध जन्य कार्यको घोर भत्र्सना गर्दछौ भनिएको छ ।

यस्तै नजिकको समुदाय, क्याम्पसका शिक्षक तथा कर्मचारी माथि यस्ता कुकृति गर्ने क्याम्पस प्रमुखलाई कानुनी कठघेरामा उभ्याई हँदै सम्मको कानुनी कारवाही गर्न सम्बन्धित निकायमा क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूले जोडदार माग गरेका छन् ।

घटनाका विषयमा क्याम्पस प्रमुख सिंहले आफूले सामान्य हातपात गरेको तर कुटपिट नगरेको प्रतिक्रिया दिनु भएको छ ।
Padam


कालीबहादुर मल्ल