लेकम गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

लेकम गाउँपालिकाले पहिलोपटक गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । पटकपटक सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको लाभग्राहीको गुनासोपछि गाउँपालिकाले शिविर सञ्चालन गरी गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरुगरेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष ०८० । ०८१ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता ८ सय ७४ जनालाई वितरण गरेको छ ।

बैंकसम्म पुग्न समस्या भएको बेला वडातहमै सामाजिक सुरक्षा भत्ता पाएपछि आफूहरुलाई निकै सहज भएको लेकम गाउँपालिका–२ का मोहन साउदले बताउनु भयो । यसअघि बैंक पुग्न घण्टौँ हिड्नुपर्दा सास्ती खेप्नुपरेको उहाँले बताउनु भयो ।

सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी तथा बैंक सम्म पुग्न नसक्ने लाभग्राहीहरुलाई वडा तहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको लेकम गाउँपालिका प्रवक्ता सुरेशसिह थापाले बताउनु भयो ।

लक्ष्मी सनराइज बैंकसँगको समन्वयमा गाउँमै शिविर सञ्चालन गरी ५ सय ३४ महिला र ३ सय ४० जना पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका एमआइएस अपरेटर प्रकाशराज बिष्टले बताउनु भयो ।

गाउँपालिकाले दोस्रो त्रैमासिक बाफतको सामाजिक सुरक्षा भत्तामा मात्रै १ करोड ९० लाख ८८ हजार ८५ रुपियाँ बजेट खर्च गरेको छ ।


नरेन्द्रसिंह कार्की