लुम्बिनी प्रदेशमा मातृमृत्यु दर देशकै उच्च, घरमै सुत्केरी हुने सङ्ख्या डरलाग्दो

लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशकै उच्च रहेको पाइएको छ । प्रदेश स्वाथ्य निर्देशनालय, लुम्बिनीको तथ्याङ्क अनुसार प्रदेशमा १ लाख जीवित   जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेको पाइएको हो । यो तथ्याकं देशका सात वटै प्रदेशमध्येकै उच्च हो ।

लुम्बिनी प्रदेश स्वाथ्य निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा दुर्गम मानिने सुदुरपश्चिम र कर्णाली प्रदेशमा भन्दा पनि लुम्बिनी प्रदेशमा २ सय ७ जना बढी र सबैभन्दा कम बागमती प्रदेशमा ९८ जना आमाहरूको मृत्यु भएको तथ्यांक छ ।

जिल्लागत अवस्थाको विश्लेषण गर्ने हो भने सबैभन्दा बढी बाँके जिल्लामा ३६ जना र सबैभन्दा कम रुकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । रुपन्देही जिल्ला मातृमृत्युको हिसाबले दोस्रो स्थानमा ३० जना रहेका छन् ।  बर्दिया १४ जना, दाङमा १५ जना, प्यूठानमा ६ जना, गुल्मी सात जना, अर्घाखाँची चार जना, कपिलवस्तु २८ जना, रोल्पा ६ जना, पाल्पा चार जना र नवलपरासी पश्चिममा सात ७ जना गरी २ सय ७ जना आमाको मृत्यु हुने गरेको तथ्यांङ्कमा उल्लेख छ ।

यसैगरी, मातृमृत्यु दरको अवस्थालाई प्रदेशिक रुपमा विश्लेषण गर्दा कोशी प्रदेशका १ सय ५७ जना, मधेश प्रदेशमा १ सय ४० जना, बागमती प्रदेशमा ९८ जना, गण्डकी प्रदेशमा १ सय ६१ जना, कर्णाली प्रदेशमा १ सय ७२ जना र सुदुरपश्चिम प्रदेशमा १ सय ३० जनाको मृत्यु भएको तथ्यांक छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृ तथा नवजात शिशु फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा रहेको मातृमृत्यु दरलाई कम गर्नको लागि लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो ।

यसैगरी, लुम्त्रिनी प्रदेशमा घरमै सुत्केरी हुने संख्या डरलाग्दो रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा आ.व. ०७९ /०८० को एक वर्षमा २ हजार ३ सय ४० जना घरमै सुत्केरी भएको तथ्यांक छ ।

घरमै सुत्केरी हुनेमा सबैभन्दा बढी कपिलवस्तु जिल्लामा ५ सय ४५ जना र सबैभन्दा कम बर्दिया जिल्लामा आठ जना रहेका छन् । त्यस्तै प्यूठानमा २ सय ३५ जना, अर्घाखाँचीमा १ सय ५४ जना, दाङ्गमा १ सय ९ जना, रुपन्देहीमा १ सय २ जना, रोल्पामा ९५ जना, रुकुम पूर्व ६६ जना, गुल्मीमा  ३३ जना, नवलपरासी पश्चिममा ६६ जना, पाल्पा २५ जना र बाँकेमा १ सय ३२ जना रहेका छन् ।

फोकल पर्सन भण्डारीले पुर्ण संस्थागत प्रसूतियुक्त स्थानीय तह तथा जिल्ला घोषणा, कार्यक्रम सुरू गरेको र जसले गर्भवती आमा घरमा सुत्केरी नभई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहित, निशुल्क रक्त संचार कार्यक्रम लागू, रगत चाहिने आमाहरूको लागि निशुल्क रगत ट्रान्सफ्युजन सेवा उपलब्ध गर्दै आईरहेको बताउनु भयो ।

मातृ मृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, धेरै मातृमृत्यु हुने स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालिन अवस्थाका गर्भवती महिलाहरूको लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन, जिल्लामा अवस्थित अस्पतालहरूबाट रिफर गर्दा एम्बुलेन्स सेवा सहज बनाउने उदेश्य सहित अगाडि बढेको बताउनु भयो ।


रीमा बिसी