लुम्बिनी प्रदेशको बजेटः शिक्षा, स्वास्थ्य र कृषि मुख्य प्राथमिकतामा (बजेटको पूर्ण पाठसहित)

  ०७८ असार १ गते

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष  २०७८/७९ मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर असार १ गते बजेट विनियोजन गरेको छ ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले कोभिड सङ्क्रमितहरूको निःशुल्क उपचार र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपियाँ विनियोजन गरेको बताउनु भयो ।

जिल्लास्तरका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने र कोभिड सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीहरूलाई ५० प्रतिशत भत्ता उपलब्ध गराउने मन्त्री चौधरीले बताउनु भयो ।

यसैगरी, शिक्षामा सुधार गर्न एवं सामुदायिक बिद्यालयको भौतिक सुधार गर्न तथा गणित र बिज्ञानको नतिजा सुधार गर्न ४४ करोड ५८ लाख रुपियाँ विनियोजन भएको छ । साथै बिद्यार्थीहरूको लागि स्वस्थ खानेपानीको लागि २ करोड रुपियाँ विनियोजन भएको छ ।

प्रदेश सरकारले प्रत्येक वडामा कृषि प्राविधिक पुर्‍याउन, कृषि प्राविधिक सेवामा किसानको पहुँच कार्यक्रमका लागि ३३ करोड बजेट छुट्याएको छ । यस्तै एक स्थानीय तह एक स्मार्ट कृषि गाउँ कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । जसका लागि ३५ करोड रुपियाँ विनियोजना गरिएको छ ।

२० हेक्टरमा रहेको करार खेती कार्यक्रमलाई १२ सय हेक्टरमा पुर्‍याउने गरी करार खेती कार्यक्रमलाई निरन्तरता दिइ ब्याजमा अनुदान र सहकारी क्षेत्रको विकासका लागि बजेट व्यवस्था गरिएको छ । प्रत्येक जिल्लामा माटो परीक्षणका लागि मिनी ल्याब, कृषि पेशालाई थप सम्मान जनक बनाउन किसानलाई पुरस्कार दिने कार्यक्रमसमेत जोड दिइएको छ ।

कुल विनियोजन बजेट मध्ये चालुतर्फ २४ अर्ब ९३ करोड ७३ लाख रुपियाँ र पुँजीगत तर्फ २१ अर्ब १७ करोड रुपियाँ रहेको मन्त्री चौधरीले बताउनु भयो ।

बजेटको पूर्ण पाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहोला 


रीमा बिसी