प्रहरीको गोली प्रहारबाट दुई जना घाइते

  ०८० कात्तिक २९ गते

लुटपाट घटनामा संलग्न रहेको आरोपमा सर्लाहीको लालबन्दी नगरपालिका-२ का ३५ वर्षीय शक्ति कुमार पासवान र ३२ वर्षीय अजय पासवानलाई  गिरफ्तार गरी ०८० कात्तिक २९ गते महोत्तरी ल्याउदै गर्दा प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा प्रहरीले गाेली प्रहार गरेका छन् ।

आरोपितहरु महोत्तरीको जलेश्वर नगरपालिका-८ रतवारा, महोत्तरी गाउँपालिका-३ डाम्ही तथा धनुषा, रौतहट लगायतका जिल्लाहरुका साथै भारतको विभिन्न स्थानमा समेत भएको लुटपाटकाे घटनामा सम्लग्न रहेकाे आरोपितहरुलाई रौतहटको गरुडा नगरपालिका-४ पानी टंकी नजिकबाट लुकिछिपी बसेको अवस्थामा कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महाेत्तरीले राैतहट जिल्ला प्रहरीकाे सहयाेगमा गिरफ्तार गरेकाे थियाे ।

आरोपितहरुलाई गिरफ्तार गरी सर्लाही जिल्ला प्रहरीकाे स्कर्टिङ्गमा महोत्तरी ल्याउँदै गर्दा सर्लाही र महोत्तरीको सिमा रहेको महोत्तरीको सोनमा गाउँपालिका-५ खैरबनीमा सर्लाही प्रहरीले महोत्तरी प्रहरीलाई आरोपिहरु जिम्मा लगाउने क्रममा प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा प्रहरीले चलाएको गोलीलागि आरोपितहरु घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिप कुमार गिरीले बताउनु भयाे । साेही क्रममा सहायक हवल्दार संजय जयसवाल र प्रहरी जवान श्याम किशोर गिरी गरी दुई जना प्रहरी समेत घाइते भएका छन् ।

आरोपितहरु फरार कुख्यात डाँका रहेको र नेपाल तथा भारतमा समेत उनीहरुविरुद्ध मुद्दा दर्ता रहेको डिएसपी गिरीले बताउनु भयाे । हालै महोत्तरीकाे विभिन्न ठाउँमा भएकाे लुटपाटकाे घटनामा समेत उनीहरुको संलग्नता देखिएको उहाँले बताउनु भयाे । घाइतेहरुको उपचार  प्रादेशिक अस्पतालमा भइरहेकाे डिएसपी गिरीले बताउनु भयाे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले लुटपाटकाे घटनामा अरुकाे समेत संलग्नता रहेकाे हुनसक्ने बताउनु भयाे । गिरफ्तार भएका आरोपितहरुका साथबाट एक थान नलकटुवा पेस्तो र चार थान गोली समेत प्रहरीले बरामद गरेको छ ।


ममता विश्वकर्मा