लिमीमा पुगेन पाठ्यपुस्तक, विद्यार्थी पठनपाठनबाट वञ्चित

जिल्लाभरका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेर पठनपाठन सुरु भए पनि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका विद्यालयमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । सिमकोटमा आइपुगेका पाठ्यपुस्तक लिमी ल्याउन नसकिएको नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङल  जानकारीदिनु भयो ।

जिल्लामा शैक्षिकसत्र सुरु भएको दुई महिना बितिसक्दा पनि लिमिका विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थी पठनपाठनबाट वञ्चित भएको अध्यक्ष तामाङले बताउनुभयो ।

पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएको रोकाया पुस्तक पसलबाट पुस्तक सुनखानी आधारभूत विद्यालयका प्रधानाध्यापक कर्णजित बुढाले बुझेको भए पनि लिमी जाने ४ हजार ६ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा हिउँ जमेकाले पाठ्यपुस्तक ढुवानीमा कठिनाइ भएको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

लिमीमा पुस्तक कहिलेसम्म ढुवानी गर्न सकिन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने प्रधानाध्यापक बुढाले बताउनुभयो ।
सदरमुकाम सिमकोटमा पुगेका पाठ्यपुस्तक विद्यालयसम्म नपुगेपछि आफुहरुको पठनपाठनमा प्रभावित भएको कक्षा ७ मा अध्यायनरत छात्र फुर्वा आङमु तामाङले गुनासो गर्नुभयो ।

सो विषयमा नाम्खा गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढालाई बुझ्दा उहाँले न्यालु र नारा लेखको बाटो हिमपातले बन्द भएका कारण पाठ्य पुस्तक रोकिएको बताउनुभयो । न्यालु भन्दा नारा लेख छिटो खुल्ने भएकाले अवको केही समयमा स्थानीयलाई बोकाएर लैजाने बताउनु भयो। विद्यार्थीले हाल केही पुराना पाठ्यपुस्तकबाट पठनपाठन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कक्षा ७ सम्म पढाइ हुने सो विद्यालयमा १३ जना बालविकासका विद्यार्थी छन् भने कक्षा १ मा चार जना, २ मा चार जना, ३ मा तीन जना, ४ मा दुई जना, ५ मा तीन जना, ६ मा दुई जना र ७ मा दुई जना विद्यार्थी अध्ययनरत छन् ।


नन्द सिंह