लिमीका तीन ओटा मतदान केन्द्रमा खटिएका ४९ जना कर्मचारी र सुरक्षाकर्मी थन्किए

  ०७९ मङ्सिर ७ गते

मङ्सिर ४ गते भएको निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई लिमीबाट उद्धार नगरेपछि अलपत्र बनेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालय हुम्लाले निर्वाचन गराउनका लागि खटाएका ६२ जना कर्मचारी र सुरक्षाकर्मीमध्ये मतदान अधिकृत, सुरक्षकर्मी गरेर १३ जना र १२ ओटा मतपेटिकालाई ओसारे पनि अन्य कर्मचारी र सुरक्षाकर्मी लगायतका ४९ जनालाई नओसारेपछि उनीहरु लिमीमै अलपत्र परेका हुन् ।

चुनाव गराउनका लागि जिल्ला सदरमुकाम सिमकोटबाट नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनीहरूलाई लिमी पुगाए पनि मङ्सिर ५ गते सो हेलिकप्टरले मतपेटिका र १३ जनालाई सदरमुकाम सिमकोट पुर्‍याएको थियो ।

तर, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मङ्सिर ६ पुनः लिन आउने आश्वसन दिए पनि उनीहरूको उद्धार हुन नसकेको लिमीमा खटिएका कर्मचारीले गुनासो गरेका छन् ।

लिमीमा अत्यधिक चिसो बढेको छ । चिसोले निकै कठिनाइ भएकाले सरकारको यतातिर ध्यान दिन लिमीमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले गुनासो गरेका छन् ।

पैदल यात्रा गर्ने हो भने पनि न्यालु र नारा लेकमा तीन फिटभन्दा बढी हिउँ जमेका कारण लेक पार गर्न नसकिने भएपछि लिमीमै रोकिन बाध्य यहाँ खटिएका कर्मचारीले गुनासो गरेका छन् ।


नन्द सिंह