लिखु तामाकोसी गाउँपालिकाले ऐन र कार्यविधि नबनाउँदा कामकाज प्रभावित

लिखु तामाकोसी गाउँपालिकाले हालसम्म कुनै पनि कानुन तथा कार्यविधि बनाउन सकेको छैन । गाउँपालिकाको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिले काम गरेको डेढ वर्ष बित्दा पनि गाउँपालिकाले कुनै पनि कानुन, निवयमावली र कार्यविधि बनाउन सकेको छैन ।

गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहालका अनुसार गाउँपालिकाले केही ऐन र कार्यविधि बनाएको भए पनि राजपत्रमा प्रकाशित नगरेका कारण कार्यान्वयनमा आउन सकेको छैन ।

उनका अनुसार गाउँपालिकाले शिक्षा ऐन, सहकारी ऐन, कृषि ऐन, पुर्वाधार ऐन, ठेक्कापट्टा इजाजतपत्रसम्बन्धी ऐन र आर्थिक ऐन बनाएको छ ।

यसैगरी शिक्षा नियमावली, कृषि नियमावली र न्यायिक समितिको कार्यविधि पनि गाउँपालिकाले बनाएर गएको असार महिनाको गाउँसभाबाट पास गरिसकेको छ ।

असारमा पास भएका ऐन, नियमवली र कार्यविधिहरू अझै गाउँपालिकाको राजपत्रमा प्रकाशित नगरिएका कारण कार्यान्वयनमा आउन नसकेको हो ।

ऐन र कार्यविधिहरू कार्यान्वयनमा नआउँदा दैनिक कार्यसम्पादनमा समेत समस्या हुने गरेको उपाध्यक्ष दाहालले बताइन् ।

गाउँसभाले पारित गरेको ऐन, निवयमावली तथा कार्यविधिहरू राजपत्रमा प्रकाशित गर्न पठाउने तथा त्यसको व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको हो ।

‘यस अघिका प्रशासकीय अधिकृतले समयमा काम नगरिदिँदा ऐनहरू राजपत्रमा छापिएर आउन सकेनन् । भर्खरै नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनु भएको छ । अब ऐन, नियमावली र कार्यविधिहरू चाँडै राजपत्रमा प्रकाशित हुने छन् ।’–दाहालले भनिन् ।


नवराज पथिक