लिखुतामाकोसी गाउँपालिका अध्यक्ष पुनः गिरफ्तार

  ०७७ पुस १८ गते

लिखुतामाकोसी गाउँपालिका अध्यक्ष ४४ वर्षीय गोविन्दबहादुर खड्कालाई ०७७ पुस १७ गते  प्रहरीले जिल्ला अदालत रामेछापको परिसरबाट पुनः गिरफ्तार गर्‍यो ।

उच्च अदालत पाटनको आदेशमा थुनामुक्त हुनुभएका खड्कालाई प्रहरीले अदालतले छाड्ने बित्तिकै पुनः गिरफ्तार गरेको हो ।

जबरजस्ती करणी, मानव बन्धक तथा ठगीको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका खड्कालाई उच्च अदालतले पुस १७ गते थुनामुक्त गर्न आदेश दिएको थियो ।

अदालतले माग गरेको पाँच लाख धरौटी बुझाएर अदालतको रोहबरमा रिहा हुने वित्तिकै उहाँलाई प्रहरीले गिरफ्तार गरेको हो ।

अध्यक्ष खड्कालाई सम्पति शुद्धिकरण मुद्दामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो । उहाँलाई जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा रखिएको छ ।

अध्यक्ष खड्कालाई ०७७ साउन ३० गते प्रहरीले गिरफ्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालत रामेछापले अध्यक्ष खड्कालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशमा असहमति जनाउँदै खड्काले उच्च अदालत पाटनमा मुद्दा दायर गर्नुभएको थियो ।


नबराज पथिक