दुई महिनादेखि कार्यालय प्रमुख नहुँदा बालबालिकाले दिवा खाजा पाएनन्

  ०८० वैशाख ३० गते

पर्वतको कुश्मा नगरपालिकामा दुई महिनादेखि कार्यालय प्रमुख नहुँदा कुश्मा नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयका बालबालिकाले दिवा खाजा पाएका छैनन् ।

कुश्मा नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ सह सचिव तहमा बढुवा भएसँगै अन्यत्र सरूवा भएपछि ०७९ फागुन २१ गतेदेखि कुश्मा नगरपालिका निमित्तको भरमा सञ्चालन भइरहेको छ ।

कुश्मा नगरपालिकाले आर्थिक कारोबार निमित्तलाई प्रदान नगरेपछि बजेट निकासा नहुँदा बालबालिकाको दिवा खाजा रोकिएको हो । कुश्मा नगरपालिका शिक्षा शाखा अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार कुश्मा नगरपालिका अन्तर्गत २० ओटा सामुदायिक विद्यालयका बालविकास केन्द्र देखि कक्षा ६ सम्म ४ हजार बालबालिका अध्ययनरत रहेका छन् ।

नेपाल सरकारले बालविकास केन्द्र देखि कक्षा ६ सम्म अध्ययनरत बालबालिकालाई दिवा खाजा स्वरूप प्रति विद्यार्थी १५ रुपियाँको दरले विनियोजन गरेको छ ।

 उक्त रकम स्थानीय तह मार्फत विद्यालयमा वितरण हुने प्रावधान रहेको र कार्यालय प्रमुख नहुँदा विद्यालयमा पठाउन नसकिएको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताउनुभयो ।

कुश्मा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष झलक रिमालले नगरपालिकाबाट समयमा पैसा निकासा हुन नसक्दा विद्यालयहरूमा समस्या परेको र बालबालिकाहरूले दिवा खाजा उपभोग गर्न नपाएको इन्सेक समक्ष गुनासो गर्नुभयो । उहाँले झण्डै दुई महिना बालबालिकाहरूले दिवा खाजा नपाएको बताउनुभयो ।

कुश्मा नगरपालिका वडा नम्बर १४ मा सञ्चालित शुभकल्याण आधारभुत विद्यालयका प्रधानध्यापक सुरेन्द्र शर्मा गौतमले ०७९ साउन देखि माघ सम्म पैसा निकासा नहुँदा उधारो खाजा खुवाउन बाध्य भएको गुनासो गर्दै माघको अन्तिममा अघिल्लो महिनामा खुवाएको खाजाको रकम भुक्तानी भएको र त्यस यता खाजा बापतको रकम विद्यालयमा नआउँदा समस्या भएको गुनासो गर्नुभयो ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कार्यालय प्रमुखको व्यवस्थापनमा आफु लागिरहेको र छिट्टै नै बालबालिकाको खाजा बापतको रकम पहिलो चरणमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।


सन्तोष थापा