लमजुङ क्याम्पसमा झडप, १५जना विद्यार्थी घाइते

लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीबिच झडप हुदाँ १५ जना विद्यार्थी घाइते भएका छन् ।

माघ २७ गते क्याम्पस बाहिर खाना खाएर फर्किरहेका अनेरास्ववियुका विद्यार्थीहरु छात्रावास प्रवेश गर्न लागेको समय नेविसंघ समर्थित विद्यार्थीले लखेटेर आक्रमण गरेको अनेरास्ववियु समर्थित विद्यार्थीहरुले बताएका छन् । आक्रमणमा फलामे रड र क्रिकेटको व्याटलगायत प्रयोग भएको र भागेर छतमा गएकालाई छतबाटै उचालेर फालेको अनेरास्ववियुका विद्यार्थीहरुले बताएका छन् । घाइते विद्यार्थीलाई सम्हालेर लाने क्रममा क्याम्पसका निमित्त प्रमुख अमित खनाल पनि सामान्य घाइते हुनुभएको छ ।

क्याम्पसका निमित्त प्रमुख खनालका अनुसार घटनामा १५ जना विद्यार्थी घाइते भएको र घाइतेलाई उपचारको लागि सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी चार जनालाई पोखरा र चितवन रिफर गरिएको छ ।

विद्यार्थी मदन रिजाल र बेदान्त घिमिरेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विराज सुवेदी र टिकाराम ढकालको चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको र उपचार भइरहेको क्याम्पसले जनाएको छ । निमित्त क्याम्पस प्रमुख खनालका अनुसार अन्य भने उपचार पछि फर्केका छन् ।

खनालका अनुसार क्याम्पसमा फागुन ८ गतेदेखि बीएसएजीकोे कक्षा सुरु गर्ने तयारी थियो । विद्यार्थी भर्नाको विषयलाई लिएर घटना भएको हुन सक्ने उहाँले बताउनुभयो । उहाँले पुरानो रिसिइबी समेत भएको हुन सक्ने बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार कुटपिटको खबर आएपछि प्रहरी पुगेको र अहिले अवस्था सामान्य रहेको बताउनुभयो ।

 


सुमित्रा भुजेल