लमजुङको सुन्दरबजारमा अनिश्चितकालिन कर्फ्यु जारी

  ०७८ फागुन २५ गते

जिल्ला प्रशासन कार्यालय लमजुङले सुन्दरबजार नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

सुन्दरबजार नगरपालिका–९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय छात्र सनिज श्रेष्ठको मृत्युको विषयलाई लिइ उत्तेजित भिडबाट सर्वसाधारणलाई पर्न जाने असरलाई मध्यनजर राख्दै फागुन २४ गते साझँ ६ बजेबाट सो नगरपालिकामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख सुशील वैद्यले जानकारी दिनुभयो ।

विद्यालयको छात्रवासबाट फागुन २४ गते पौडी खेल्न मर्स्याङ्दी नदीमा गएका छात्र श्रेष्ठलाई खोलाले बगाएपछि मृतकको आफन्तले विद्यालयको लापरबाही भएको भन्दै विद्यालमा तोडफोड तथा आगजानी गरेका थिए ।

तोडफोडमा विद्यालयको दुई ओटा बसलाई पुर्ण क्षति पुगेको छ भने आन्दोलनकारी र प्रहरीबिच भएको दोहोरो भिडन्तमा दुई जना प्रहरी र तीन जना आन्दोलनकारी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी कृष्णबहादुर कार्कीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङ प्रवेश गर्ने मुख्य नाका रहेको त्यस नगरपालिकामा अत्यावश्यक सवारी साधनलाई आवात जावत गर्न दिइएको छ भने अरु सबै सवारी साधनहरुमा रोक लगाइएको छ ।

आन्दोलनकारीहरुबाट गरिएको तोडफोडबाट करिब १० लाख रुपियाँ बरावरको क्षतिको अनुमान गरिएको छ ।


दलबहादुर मजाकोटी