लटिनाथमा एमाले र माओवादी केन्द्रबीच झडप

  ०७४ असार ४ गते 

दलबलसहित मनोनयन दर्ता गर्ने क्रममा मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबिच झडप भएको राससले जनाएको छ ।  मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् ।

माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बुझिएको छ ।

दुवै पक्षबिच एकापसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका पाँचरसात जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबिच झडप भएको र झडपमा भएको क्षतिका बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको स्थानीय दिनेश सिंहले जानकारी दिए ।

उनका अनुसार लटिनाथ बजारमा झडप हुँदा होटलमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण रहेकाले झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको उनकको भनाइ छ ।


अनलाइन डेस्क