लक्षित समुदायलाई वडा कार्यालयको स्वास्थ्य बीमा कार्यक्रम

  ०७८ असोज ७ गते

नेपाल सरकारले २०७२ सालदेखि  सुरूआत गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम पछिल्ला दिनमा स्वास्थ्य बीमा कार्यक्रमका रूपमा रूपान्तरण भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन वार्षिक ३ हजार ५ सय रुपियाँ तिनुपर्ने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रमको छ ।

तर, बेलवारी नगरपालिका–६ की ३५ वर्षीया सन्तोमोची चमार ०७८ असार १२ गते नेपाल सरकारको यो कार्यक्रममा निशुल्क सूचीकृत हुनु भयो । बेलवारी नगरपालिका–६ का ३४ वर्षीय गोपाल सार्की पनि ०७८ असार १० गते स्वास्थ्य बीमा कार्यक्रममा निशुल्क सहभागी हुनु भयो । चमार र सार्कीको परिवार सङ्ख्या समान चार जनाको छ ।

हालका दिनमा नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षका लागि सहभागी हुन र त्यसबाट लाभ लिनका लागि पाँच जना सदस्य भएको परिवारले प्रतिपरिवार ३ हजार ५ सय रुपियाँ तिर्नु पर्ने व्यवस्था छ । तर बेलवारी नगरपालिका–६ मा बसोवास गर्ने अति विपन्न, असहाय, निमुखा र दलित परिवारका पाँच जना सदस्यले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन ।

पाँच जना भन्दा बढी परिवार सङ्ख्या भए प्रति व्यक्ति ७ सय रुपियाँका दरले शुल्क बुझाएर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था बेलवारी नगरपालिका–६ वडा कार्यालयले आर्थिक वर्ष २०७७-०७८ देखि मिलाएको छ ।

वडा कार्यालयले अति विपन्न, असहाय, निमुखा र दलित समुदायका व्यक्तिको आधारभूत स्वास्थ्य अधिकारलाई सम्बोधन गर्ने गरि सुरूआत गरेको कार्यक्रमको पहिलो आर्थिक वर्ष ०७७-०७८ मा अति विपन्न परिवार, असहाय, निमुखा र दलित परिवार गरी लक्षित समूहका १ सय ४५ परिवारले स्वास्थ्य बीमाको लाभ लिएको दर्ता सहयोगी ३१ वर्षीया दमयन्ती गच्छदारले बताउनु भयो ।

आर्थिक वर्ष ०७८-०७९ का लागि लक्षित परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सूचना प्रकाशन गरिएको दर्ता सहयोगी गच्छदारको भनाइ छ ।

बेलवारी नगरपालिका–६ वडा कार्यालयले सामाजिक विकास कार्यक्रमका रूपमा सुरूआत गरेको कार्यक्रमले आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित भएका लक्षित समुदायका परिवारको स्वास्थ्य अधिकार सुनिश्चित भएको बेलवारी नगरपालिका–६ का वडाध्यक्ष उदयबहादुर राईले बताउनु भयो ।

बेलवारी नगरपालिकाले सामाजिक विकास कार्यक्रममा रूपमा लक्षित समुदायलाई प्राथमिकतामा राखि अति विपन्न, असहाय, निमुखा तथा दलित परिवारका पाँच जना सदस्य सम्मलाई निशुल्क र सो भन्दा बढी परिवार सङ्ख्या भएमा प्रति व्यक्ति थप ७ सय रुपियाँका दरले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउँदै आएको वडाध्यक्ष राईले बताउनु भयो ।

वडा कार्यालयले गरीदिएको स्वास्थ्य बीमा कार्यक्रमबाट ०७८ भदौ २१ गते बिरामी भएको १४ वर्षीय छोरा युवराज रामको उपचार बुढीगङ्गा गाउँपालिका–२ स्थित विराट टिचिङ्ग अस्पतालमा स्वास्थ्य बीमाबाट गराएको सन्तोमोची चमारले बताउनु भयो ।

स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन ३ हजार ५ सय रुपियाँ आवश्यक हुने तर सो रकम तिर्न नसक्नेहरूलाई लक्षित गरी वडा कार्यालयले लक्षित समुदायको स्वास्थ्य बीमा गरि दिएको वडा–६ का वडाध्यक्ष उदयबहादुर राईको भनाइ छ ।

लक्षित समुदायलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन तथा नवीकरणका लागि सूचीकृत हुन वेलवारी नगरपालिका–६ कार्यालयले भदौ ३० गते सार्वजनिक सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

प्रदेश १ का १४ ओटा जिल्लामा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम मोरङमा भने ०७६ भदौ १५ गतेदेखि सुरूआत भएको हो ।

Photo 20210923 Morang


अर्जुन दर्जी