रौतहटमा स्थगित गरिएका २४ मतदान केन्द्रको मतदान सुरु

  ०७९ जेठ ४ गते

स्थानिय निर्वाचन ०७९ देशभरी एकैसाथ वैशाख ३० गते भएकोमा रौतहट जिल्लाको ६ ओटा पालिकाका ११ मतदान स्थलको २४ ओटा मतदान केन्द्रमा विभिन्न कारणले स्थगित भएको निर्वाचन जेठ ४ गते जिल्ला भरि एकै साथ सुरु भएको छ ।

वैशाख ३० गते भएको निर्वाचनमा यमुनामाई गाउँपालिका–१ मा नेकपा माओवादी र जासपा बिच विवाद भएपछि माओवादीले बुथ कब्जा गर्न खोजेको भन्दै जासपा र अन्य दलहरु मिलेर मतपेटिका लिएर स्थानीयहरु भागेको विषयलाई लिएर मतदान स्थगित भएको थियो ।

त्यस्तै सोही नगरपालिका वडा नं. २ मा मतपेटिकामा पानी खन्याएको विषयलाई लिएर निर्वाचन स्थगित भएको थियो ।

गढीमाई नगरपालिकाको वडा नं. ३ र ६ मा मतदानकै बेला दुई पक्ष बिच विवाद भएर झडप भएपछि मतदान नै स्थगित भएको थियो ।

सबै पक्ष बिच सहमतिको प्रयास गराउँदा पनि नभएपछि भएको मतदान स्थगित गरिएको थियो । मतदान भएपछि बौधिमाई नगरपालिका वडा नं. ३ को मतदान केन्द्रको पनि स्थगित गरिएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले बताउनु भएको थियो ।

गरुडा नगरपालिका वडा नं. ७, देवाही गोनाही नगरपालिका वडा नं. २, फतुवाबिजयपुर नगरपालिका वडा नं. ४ र ७, बौधिमाई नगरपालिका वडा नं. १, २ र ९, ११ स्थानमा मतदान पुनः भइरहेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल यादवले बताउनु भयो ।

तोकिएको समयमा निर्वाचनका दिन शान्तिपूर्ण तरिकाले निर्वाचन सफल पार्न विभिन्न राजनीतिक दलहरुको आपसी झगडा र सुरक्षा नीति फितलोका कारण निर्वाचन स्थगित गरेर पुनः निर्वाचन गर्नु परेको फतुवाबिजयपुरका स्थानिय भुवन रेग्मीले बताउनु भयो ।

जेठ ४ गते भइरहेको निर्वाचनमा कडा सुरक्षाकर्मी परिचालन गरिएको र शान्तिपुर्ण तरिकाले गर्न योजना बनाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलाल जयसवालले बताउनु भयो ।


कोपिला तिमल्सिना